गृहपृष्ठ विपद्मा रास्वपा रूपन्देहीको निर्देशन– व्यक्तिगत QR र खाताबाट राहत नउठाउन आग्रह
विपद्मा रास्वपा रूपन्देहीको निर्देशन– व्यक्तिगत QR र खाताबाट राहत नउठाउन आग्रह
भदौ २१,२०८३
बुटवल टाइम्स
रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही जिल्ला समितिले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै पालिका तथा वडा तहका समितिलाई राहत–उद्धार कार्यमा जिम्मेवार र संयमित रूपमा परिचालित हुन निर्देशन दिएको छ।
जिल्ला समितिले भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका नागरिकहरूको विवरण सम्बन्धित परिवार तथा आफन्तमार्फत पालिका, वडा र स्थानीय प्रहरी कार्यालयमा दर्ता गराउन सहजीकरण गर्न आग्रह गरेको छ। त्यस्ता विवरण जिल्ला समितिलाई समेत उपलब्ध गराउन निर्देशन दिइएको छ।
रास्वपाले प्रभावित क्षेत्रमा तत्कालै भौतिक रूपमा जाने हतार नगर्न पनि आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरेको छ। केन्द्रीय तथा प्रदेश समितिबाट आवश्यक निर्देशन प्राप्त भएपछि मात्रै समन्वय गरेर परिचालन हुन भनिएको छ।
त्यस्तै, आर्थिक सहयोग संकलन गर्दा नेपाल सरकारको विपद् तथा उद्धार कोषका लागि उपलब्ध गराइएको आधिकारिक QR तथा बैंकिङ माध्यम मात्र प्रयोग गर्न निर्देशन दिइएको छ। व्यक्तिगत QR, व्यक्तिगत बैंक खाता वा अन्य अनधिकृत माध्यमबाट राहत रकम संकलन नगर्न स्पष्ट भनिएको छ।
जिन्सी राहत तथा सामग्री आवश्यक परेको अवस्थामा पनि आफ्नो स्वेच्छाले प्रभावित क्षेत्रमा सामग्री लिएर नजान आग्रह गरिएको छ। सम्बन्धित पालिका तथा स्थानीय प्रशासनसँग समन्वय गरी त्यसको जानकारी जिल्ला तथा प्रदेश समितिलाई गराउन र प्राप्त निर्देशनअनुसार मात्रै राहत संकलन तथा वितरण गर्न भनिएको छ।
संकलित राहत सामग्री वितरण गर्दा सम्बन्धित पालिका तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रदेश र जिल्ला समितिलाई जानकारी गराएर मात्र वितरण गर्न निर्देशन दिइएको छ।
केन्द्रीय तथा प्रदेश समितिबाट प्राप्त सूचना, सर्कुलर र निर्देशनहरू पालिका हुँदै वडा तहसम्म प्रभावकारी रूपमा पुर्याएर कार्यान्वयन गराउन पनि जिल्ला समितिले आग्रह गरेको छ।
विपद्को कठिन परिस्थितिमा रास्वपाका सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार, पारदर्शी र एकताबद्ध हुँदै सरकारी संयन्त्रसँग समन्वय गरेर प्रभावित नागरिकको सहयोगमा जुट्न जिल्ला समितिले अनुरोध गरेको छ।















