गृहपृष्ठ रुपन्देही–३ उपनिर्वाचन : माओवादी केन्द्र एक्लै मैदानमा उत्रने प्रचण्डको घोषणा
रुपन्देही–३ उपनिर्वाचन : माओवादी केन्द्र एक्लै मैदानमा उत्रने प्रचण्डको घोषणा
२०८२ भदौ १५ गते
बुटवल — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार बुटवलको वेलबासमा सम्पन्न लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको आगामी चुनावी रणनीति र आन्तरिक अवस्थाबारे स्पष्ट धारणा राखे।
प्रचण्डले भने, “पछिल्लो समय कांग्रेस–एमालेका नेताहरूले समेत यो परिवर्तन माओवादीले ल्याएको हो र यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भनेर भेट्दा भन्छन्। मैले उनीहरूलाई यो कुरा मलाई होइन, जनतालाई भन्नुहोस् भन्छु। परिवर्तनको आन्दोलनमा माओवादीको योगदान कसैले नकार्न सक्दैन। त्यसैले कमरेडहरू, रुपन्देहीमा यसपटक अझ राम्रो परिणाम ल्याउनेछौं। पार्टी एक्लै लड्ने हो, तयारी गर्नुहोस्।”
असन्तुष्टि, वर्गसंर्घष र ऐतिहासिक दृष्टान्त
अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका असन्तुष्टि र बहसलाई स्वाभाविक प्रक्रिया भन्दै वर्गसंर्घषकै स्वरूप भएको बताए। उनले माओत्से तुङ, ल्यू साओची र लिन प्याओबीचको सम्बन्धको उदाहरण दिँदै विश्वासघात र नेतृत्वप्रतिको आस्थाबारे ऐतिहासिक दृष्टान्त प्रस्तुत गरे।
उनले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले माओवादीलाई दिएको जिम्मेवारी भएको स्मरण गर्दै त्यसको अभिलेख व्यवस्थित गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
“देशभरका वडाबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिहरूको विवरण संकलन गरेर केन्द्रमा पठाउनुपर्छ,” प्रचण्डले भने। उनले गणतन्त्रमा योगदान दिने जुनसुकै पार्टीका नागरिकलाई सम्मान गर्नुपर्ने र त्यसका लागि पार्टीले मापदण्ड तयार गर्ने जानकारी दिए।
भरोसा पुनः बढ्दो र भविष्यको तयारी
प्रचण्डले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दै गएको दाबी गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरू माओवादी आन्दोलनविरुद्ध सक्रिय देखिएको बताए। तर, वर्गसंर्घषको वैज्ञानिक नियमअनुसार आन्दोलन अझ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे।
बैठकमा उनले संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रतिको जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा राखेका थिए।









