गृहपृष्ठ रास्वपाले रुपन्देही–३ बाट डा.लेखजंग थापालाई उम्मेदवार घोषणा गर्‍यो

रास्वपाले रुपन्देही–३ बाट डा.लेखजंग थापालाई उम्मेदवार घोषणा गर्‍यो


काठमाडौँ 

कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ।

पार्टीले आन्तरिक प्राइमरी इलेक्सनसहितका चरण पूरा गरेर शनिबार थापाको नाम सार्वजनिक गरेको हो। यसअघि उम्मेदवार बन्न इच्छुक ९ जनाले निवेदन दिएका थिए।

रास्वपाले गत साउन २१ गतेसम्म आवेदन खुला गरेको थियो। सो अवधिभित्र सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए। आवेदन दर्ता गर्न प्रत्येकले २५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्‍यो।

उम्मेदवार छनोटका लागि पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो।

चिकित्सकदेखि राजनीतिसम्म

सिद्धार्थनगर–९ अञ्चलपुरका स्थायी बासिन्दा डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले चिकित्सक र सामाजिक सेवामा करिब १७ वर्ष बिताएका छन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्युरोलोजी अध्ययन गरेका थापाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ तालिमसमेत लिएका छन्।

थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। उनकाे नेतृत्वमा तयार गरिएको ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल’ स्वास्थ्य मन्त्रालयमार्फत स्वीकृत भई कार्यान्वयनमा आएको छ।

पछिल्ला वर्षहरूमा उनी चिकित्सा सेवासँगै सामाजिक न्याय, समृद्धि र विकासलाई राजनीतिबाट अघि बढाउन सकिने विश्वाससहित रास्वपामा सक्रिय भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु