गृहपृष्ठ भ्रष्टाचार र दमनविरुद्ध जेनजी विद्रोह जनताको जीत : विप्लव
भ्रष्टाचार र दमनविरुद्ध जेनजी विद्रोह जनताको जीत : विप्लव
कार्तिक २०, २०८२
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहमार्फत अहङ्कारी सत्ता र दलाल संसद् ध्वस्त पारिएको बताउँदै त्यसप्रति धन्यवाद व्यक्त गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित खबरदारी कार्यक्रममा बोल्दै विप्लवले माओवादी जनयुद्ध र एकीकृत जनक्रान्तिले गर्न नसकेको ऐतिहासिक काम जेनजी विद्रोहले पूरा गरेको दाबी गरे।
उनका अनुसार, ‘अहङ्कारी सत्ता र दलाल संसद् ध्वस्त पारिएकोमा जनतालाई धन्यवाद दिन चाहन्छु। हाम्रो आवाजलाई बेवास्ता गरियो, संसद् दलालहरूको स्वार्थपूर्ति गर्ने उपकरण बनाइयो। इतिहासमा कहिल्यै नमेटिने गरी राष्ट्रघात भयो,’ उनले भने।
विप्लवले सरकारले ठेक्कापट्टा, भ्रष्टाचार र लुटपाटलाई संस्थागत बनाएको आरोप लगाए। ‘भ्रष्टाचार वडादेखि नै सुरू छ। सरकारले सत्ता, राज्य र डण्डाको बलमा जनमत दमन गर्यो। त्यसकै परिणामस्वरूप जेनजी विस्फोट भयो र अहङ्कारी सरकार ढल्यो,’ उनले टिप्पणी गरे।
जनयुद्धमा रगत बगाउनेहरूलाई अपमान गरिएको भन्दै विप्लवले आक्रोश पनि पोखे। उनका शब्दमा, ‘संविधानमा गणतन्त्र लेखिएको छ तर त्यो जनताको संविधान होइन।’
उनले भ्रष्टाचार र बेथिति विरुद्ध आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएको स्मरण गरे।
‘सत्ताको सुविधाका लागि संविधान र जनआकांक्षा दुबै बेचियो। संविधानलाई पूर्णता दिन, जनजाति, मधेसी र महिलाको अधिकार सुनिश्चित गर्न हामीले लड्यौँ। न्यायको आवाज उठाएको बदलामा कम्युनिस्ट सरकार र पार्टीहरूले हामीमाथि दुई वर्ष प्रतिबन्ध लगाएका थिए,’ विप्लवको भनाइ थियो।









