गृहपृष्ठ . प्रचण्डको दाबीः फागुन २१ को चुनावमा नेकपा एक्लै पहिलो पार्टी बन्छ
. प्रचण्डको दाबीः फागुन २१ को चुनावमा नेकपा एक्लै पहिलो पार्टी बन्छ
माघ २२, २०८२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको बुधबार बिहान बसेको जुम बैठकलाई सम्बोधन गर्दै उनले जनताबाट अस्वीकृत र तिरस्कृत शक्तिसँग गठबन्धन नहुने स्पष्ट पारे। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले नेकपा एक्लै चुनाव लड्ने र सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका थिए।
उनले अन्य पार्टीहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनमा एमालेभन्दा बढी सिट जित्ने निश्चित भइसकेको जिकिर गरे। साथै, आधिकारिक उम्मेदवारलाई जिताउन उत्साहपूर्वक निर्वाचन तयारीमा जुट्न निर्देशन दिए।
बैठकलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले पनि विभिन्न दल र नेतासँग छलफल भए पनि नेकपा एक्लै चुनाव लड्ने बताए। ‘राजनीतिमा संवाद हुन सक्छ, तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्छौं,’ उनले भने।
बिहान ८ बजेदेखि करिब एक घण्टा चलेको उक्त जुम बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।










