गृहपृष्ठ दैलेखमा पत्रकार थापाको घर पुगे प्रचण्ड, आत्मालोचनासहित परिवारसँग मागे क्षमा

दैलेखमा पत्रकार थापाको घर पुगे प्रचण्ड, आत्मालोचनासहित परिवारसँग मागे क्षमा


सोमबार, ०५ जेठ २०८२

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान दशक लामो सशस्त्र द्वन्द्वको दौरान माओवादी पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको घर पुगेका छन्।

‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत अछाम हुँदै आइतबार दैलेख पुगेका प्रचण्डले सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गरेपछि त्यहीँ बसोबास गरेका थिए। सोमबार बिहान काँडाचौरदेखि गढीसम्म मर्निङ वाकमा निस्किएका उनले सदरमुकाममा रहेको थापाको सालिकमा माल्यार्पण गरेपछि थापाको घर पुगेका हुन्।

थापाको घर प्रचण्ड बसेको होटलबाट करिब ५ सय मिटरको दूरीमा रहेको थियो। घर पुगेका प्रचण्डलाई थापाको परिवारले खादामाला अर्पण गर्दै स्वागत गरेका थिए। थापाका कान्छा भाइ यज्ञराज थापाका अनुसार, सो अवसरमा प्रचण्डले पत्रकार थापाको हत्या घटनाबारे पुनः आत्मालोचना गरेका थिए।

यज्ञराजले भने, “प्रचण्डले हामीबाट गल्ती भएको थियो, त्यसका लागि आत्मालोचना गरिसकेका छौँ भन्नुभयो। गल्ती स्वीकार गर्दै आएको कुरा पुनः दोहोर्याउनुभयो।”

थापाको परिवारप्रति माओवादी पार्टीको उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचण्डले परिवारसँग विगतका गल्तीहरूलाई स्वीकार गर्न अनुरोधसमेत गरे। परिवारले पनि प्रचण्डको व्यवहारलाई सम्मानका रूपमा बुझेको जनाएको छ।

यज्ञराज भन्छन्, “उहाँहरू पहिलेदेखि नै गल्ती स्वीकार गर्दै आत्मालोचना गर्दै आउनुभएको छ, जुन अरू नेताहरूमा देखिँदैन। उहाँ आफैँ घरसम्म आउनु ठूलो कुरा हो।”

थापा परिवारले न्यायिक प्रक्रिया जारी रहेकाले कानुनी पक्षमा भने खासै चर्चा नभएको बताएका छन्। “अदालती प्रक्रिया चलिरहेकाले त्यसबारे खासै कुरा भएन, हामीले पनि प्रश्न उठाएनौँ,” यज्ञराजले भने।

पत्रकार डेकेन्द्रराज थापाको २०६१ साल साउन २७ गते दैलेखको नौमुले गाउँपालिका–३, द्वारीमा हत्या गरिएको थियो। माओवादी पक्षबाट भएको यस घटनाले त्यतिबेला व्यापक आलोचना र भित्री असन्तोष जन्माएको थियो।

आइतबारको आमसभामा बोल्दै प्रचण्डले पनि युद्धका क्रममा दैलेखमा केही गम्भीर त्रुटिहरू भएको स्वीकार गरेका थिए। डेकेन्द्रराज थापाको हत्या र त्यसपछि उठेको ‘दुल्लु विद्रोह’ले माओवादी पार्टीभित्र समेत ठूलो तरंग सिर्जना गरेको थियो।

माओवादी नेतृत्वको कमजोरीकै कारण दुल्लुका जनताहरू माओवादीविरुद्ध आन्दोलनमा उत्रिएका थिए। सोमबार दैलेख सदरमुकामबाट प्रचण्ड मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटतर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु