गृहपृष्ठ हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ सरकार : प्रधानमन्त्री

हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ सरकार : प्रधानमन्त्री


भदौ १४,२०८३
बुटवल टाइम्स

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ।
नेपाल सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि हालसम्म ३९४ उडान भइसकेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट समेत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।
उद्धारका क्रममा रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जना तथा प्रभावित जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनाका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका इन्जिनियरसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ९० सदस्यीय टोली परिचालन गरिएको छ। सुरुङभित्र प्रवेशका लागि प्वाल बनाउने, ब्लास्टिङ तथा अन्य उपकरण प्रयोग गरेर खोजी जारी राखिएको सरकारले जनाएको छ।
बाढीबाट घाइते भएका २६७ जनाको उद्धार गरी उपचार भइरहेको छ। तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
राहत तथा आश्रयका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
सरकारका अनुसार प्रधानमन्त्री राहत कोषमा हालसम्म विभिन्न नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।
विपद्मा भारत, चीन, अमेरिका, अष्ट्रेलिया, स्विट्जरल्यान्डलगायतका मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ। एडीबीबाट ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा विभिन्न मुलुकबाट नगद र मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता आएको छ।
यसैबीच, बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित क्षेत्रको यातायात सेवा प्रभावित भए पनि वैकल्पिक सडक सञ्चालन र पुनःनिर्माणको काम भइरहेको सरकारले जनाएको छ।
बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको सरकारले जनाएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
सरकारले विपद्को सामना गर्न सम्पूर्ण राज्य संयन्त्र परिचालन गरिएको जनाउँदै प्रभावित नागरिकसम्म राहत पुर्‍याउने तथा पुनःस्थापना र पुनर्निर्माणको काम निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु