गृहपृष्ठ गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा
गति, दिशा र जिम्मेवारी बिना देश अघि बढ्दैन: गगन थापा
oplus_8388640
१५ फागुन २०८२
कल्पना घिमिरे
बुटवल, रुपन्देही — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशलाई स्थिरता, सहकार्य र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्।
सभालाई सम्बोधन गर्दै उनले देशलाई “एउटै गाडी”सँग तुलना गर्दै गति मात्र होइन, सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने सुजबुझ र परिपक्वता आवश्यक पर्ने बताए। “गाडीलाई तीव्र गतिमा कुदाएर मात्र हुँदैन, त्यसलाई सही दिशा र जिम्मेवारीका साथ गन्तव्यसम्म पुर्याउनुपर्छ,” उनले भने।
थापाले “म मात्र ठीक, अरू सबै बेठिक” भन्ने मानसिकताले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिँदै सबै दलबीच सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राखे। उनले नेपाली कांग्रेस सबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने दाबी गरे।
उनले विगतमा देशले द्वन्द्वकाल, मधेस र थारु समुदायसहित विभिन्न पहिचानका आन्दोलनहरू भोगेको स्मरण गर्दै ती सबैको भावना समेटेर संविधान निर्माण गरिएको बताए। “अब भाषणभन्दा काम आवश्यक छ। सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समेटेर अघि बढ्नुको विकल्प छैन,” उनले जोड दिए।
सभापति थापाले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमप्रति सचेत रहन आग्रह गर्दै उत्तेजनाको राजनीति भन्दा संगठन, अनुभव र धरातलीय कामलाई प्राथमिकता दिनुपर्ने बताए। उनले देशमा बनेका पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गरे।
“पहाडबाट तराई, तराईबाट विदेश जाने क्रम रोक्न समस्याको जरासम्म पुग्नुपर्छ। यो काम एक व्यक्तिले मात्र सम्भव हुँदैन, समग्र सोच र दीर्घकालीन योजना आवश्यक हुन्छ,” उनले भने।
उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बने ३० दिनभित्र जनताका नाममा स्पष्ट संकल्पसहित कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी यही माटोमा केही गर्ने संकल्पका साथ उभिएका छौं। देशलाई स्थिरता र समृद्धिको बाटोमा लैजान जनताको साथ चाहिन्छ,” थापाले भने।










