गृहपृष्ठ एमाले विधान महाधिवेशन प्रारम्भ : पहिलो दिन चार प्रतिवेदन प्रस्तुत

एमाले विधान महाधिवेशन प्रारम्भ : पहिलो दिन चार प्रतिवेदन प्रस्तुत


भाद्र २१, २०८२

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पहिलो दिन विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ।

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको महाधिवेशनमा आज राजनीतिक, विधान संशोधन, सङ्गठनात्मक र सल्लाहकार परिषद्को प्रतिवेदन प्रस्तुत गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

तर समय अभावका कारण निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत हुन सकेनन्। यी प्रतिवेदन भोलि बिहान ८ बजे प्रस्तुत हुने र त्यसपछि १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरु हुने गौतमले बताए।

आज पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे भने उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।

भोलि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

महाधिवेशनको समसामयिक प्रस्ताव लेखन संयोजकको जिम्मेवारी नेता योगेश भट्टराईलाई दिइएको छ। यस महाधिवेशनमा देशभरका २,०२६ प्रतिनिधि र आयोजक ३१५ जना गरी कूल २,३४१ जनाको सहभागिता रहेको प्रचार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु