गृहपृष्ठ एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीसहित सयौँ नेता–कार्यकर्ता रास्वपा प्रवेश

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीसहित सयौँ नेता–कार्यकर्ता रास्वपा प्रवेश


मंसिर २८, २०८२

कल्पना घिमिरे

बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । सैनामैनामा आयोजित विशेष कार्यक्रममा कार्कीसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ जना नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका केन्द्रीय नेताहरूले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पुराना दलहरूबाट निराश बनेका जनताको आशा अब रास्वपाप्रति बढ्दै गएको बताए । उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै नवप्रवेशीहरूलाई परिवर्तनको यात्रामा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

पूर्वनगर प्रमुख कार्कीले आफू लामो समय नेकपा एमालेमा रहेर काम गरे पनि अब नयाँ सोच र वैकल्पिक राजनीतिक धारको आवश्यकता देखेर रास्वपामा प्रवेश गरेको बताए । उनले भने, “देशको राजनीति पुरानै शैलीमा चलिरहँदा जनताको विश्वास घट्दै गएको छ । रास्वपाले उठाएको एजेन्डाले मलाई आकर्षित गर्‍यो, त्यसैले यो पार्टी रोजें।”

कार्की नेकपा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलका पूर्वस्वकीय सचिवसमेत रहिसकेका अनुभवी नेता हुन् । उनको रास्वपा प्रवेशलाई रुपन्देहीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्कीसँगै नेकपा एमाले प्रदेश कमिटी सदस्य पदम ज्ञवालीलगायत अन्य स्थानीय तहका नेता तथा कार्यकर्ताहरू पनि रास्वपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले पार्टी संगठन सुदृढ बनाउँदै आगामी निर्वाचन तथा राजनीतिक गतिविधिमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाएका छन् ।

रास्वपाले पछिल्लो समय देशका विभिन्न जिल्लामा निरन्तर पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै आएको छ । नेतृत्वका अनुसार पुराना दलप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिप्रतिको चाहनाले रास्वपामा आकर्षण बढ्दै गएको हो । रुपन्देहीमा भएको यो सामूहिक प्रवेशलाई पार्टीले आगामी दिनमा संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु