गृहपृष्ठ आईजीपी थापाको निर्देशन: जेठ १५ मा सुरक्षा व्यवस्थामा कडाइ
आईजीपी थापाको निर्देशन: जेठ १५ मा सुरक्षा व्यवस्थामा कडाइ
जेठ ४ गते
काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले मुलुकमा राजनीति व्यवस्था र संविधानविरोधी तत्वहरू सक्रिय हुन थालेको भन्दै त्यसप्रति अत्यन्तै गम्भीर बन्न निर्देशन दिएका छन्।
आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाभित्रका प्रहरी कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले आगामी जेठ १५ गतेका लागि राजावादीहरूले घोषणा गरेको प्रदर्शनमा उच्च सतर्कता अपनाउन स्पष्ट आदेश दिए।
“कानूनको कार्यान्वयन, जनताको जिउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कार्यमा विशेष ध्यान दिनुहोस्,” थापाले निर्देशन दिंदै भने।
प्रदर्शनका क्रममा कुनै किसिमको अराजक गतिविधि नस्वीकारिने स्पष्ट गर्दै उनले सबै प्रहरी युनिटहरूलाई तयारी अवस्थामा रहन आदेश दिए।
प्रहरी संगठनभित्र अनुशासनहीनता असह्य : आईजीपी थापा
हालै प्रहरी कर्मचारीहरूबीच आपसी कुटपिटका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा बोल्दै आईजीपी थापाले संगठनभित्र यस्ता अनुशासनहीन कार्यहरू असह्य हुने बताए।
“ड्युटीमा वा कार्यालयको कामकाजका क्रममा प्रहरी कर्मचारीबीच झैझगडा र हातपात हुने काम संगठनका लागि पूर्णतः अस्वीकार्य हो,” उनले भने।
विशेषगरी नागढुंगा चेकपोष्टमा एक ट्राफिक इन्स्पेक्टरद्वारा सिभिल प्रहरी जवानमाथि गरिएको हातपातको घटना सार्वजनिक भएको प्रसङ्ग उठाउँदै उनले भने, “पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै अमर्यादित र संगठनकै लागि लज्जास्पद विषय हो।”
उनले थपे, “गलत काम गर्ने प्रहरी कर्मचारीलाई विधिअनुसार कारवाही अवश्य हुनेछ, तर घटनास्थलमै हातपात गर्नु उपयुक्त होइन।”










