गृहपृष्ठ बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने कथा बनाइँदैछ’ — रिमालको चेतावनी

बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने कथा बनाइँदैछ’ — रिमालको चेतावनी


  जेठ ४ गते   प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अहिलेको समयलाई “कथाले कामभन्दा ठूलो देखिने युग” भन्दै, नेपाल विद्युत प्राधिकरण र उसका इमान्दार कर्मचारीविरुद्ध नकारात्मक न्यारेटिभ बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गर्दै रिमालले यस्तो प्रवृत्तिप्रति सजग रहन आग्रह गरेका छन्।

‘हितेन्द्र शाक्यजी! तपाईं प्राधिकरणको निर्देशक हुनुहुन्छ, तपाईं सक्षम हुनुहुन्छ, प्राधिकरणलाई प्रगतिमा लैजान इमान्दार पनि हुनुहुन्छ। तर ध्यान दिनुहोस्—बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने कथा बुनिँदैछ। बिजुली कसरी आयो भन्ने थाहा नपाई, ल्याउनेलाई देवता बनाउने र फेरि त्यहीँ बसेर दोष दिने समाज हो यो,’ उनले लेखेका छन्।

रिमालका अनुसार समाजमा केही समूहले यथार्थभन्दा कथा र भ्रममार्फत प्रभाव जमाउने प्रयास गरिरहेको छ। उनले लेखेका छन्, ‘समाजलाई सेवा दिने होइन, कथाको छायाँमा राखेर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने गिरोह सक्रिय छ। अहिले काम गर्नेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। तपाईंले कति इमान्दार प्रयास गर्नुभए पनि त्यो सामाजिक सञ्जालको फिडमा नदेखिन सक्छ, किनभने त्यो उनीहरूको कथा फ्रेममा अटाउँदैन।’

शाक्यलाई कर्ममा अडिग रहन सुझाउँदै रिमालले भनेका छन्, ‘काम गर्नुस्, तर होशियार रहनुस्—किनकि कथा बनाउनेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’

उनले थप लेखेका छन्, ‘कन्टेन्टको दुनियाँले तपाईंलाई पनि कन्टेन्टको हिस्सा बनाउन खोजिरहेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’

पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा झ्याप्पझ्याप्प बत्ती जान थालेपछि उपभोक्ताले अघोषित लोडसेडिङको आशंका गर्न थालेका छन्। तर विद्युत प्राधिकरणले हावाहुरी र अन्य प्राविधिक कारणले समस्या भएको भन्दै लोडसेडिङ नभएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु