गृहपृष्ठ म्यादी प्रहरी भर्नामा उत्साहजनक सहभागिता, ४८ घण्टामै २७ हजार आवेदन
म्यादी प्रहरी भर्नामा उत्साहजनक सहभागिता, ४८ घण्टामै २७ हजार आवेदन
पुस २८, २०८२
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ।
नेपाल प्रहरीले पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारबाट आवेदन लिन सुरु गरेको हो। आवेदन खुला गरिएको दुई दिनमै २७ हजारभन्दा बढी आवेदन प्राप्त भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार निर्वाचन सुरक्षाका लागि यसपटक कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ।
दरखास्त आह्वान गरिएको दोस्रो दिन शनिबार मात्रै १७ हजार जनाले आवेदन दिएका छन्। निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्।
यसपटक सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ। सशस्त्र प्रहरी बलले जिल्ला सुरक्षा समितिमार्फत आवेदन सङ्कलन गरी भर्ना प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।










