गृहपृष्ठ पदमार्ग निर्माणमा एकरूपता : सरकारको नीति समन्वयतर्फको रणनीतिक मोड
पदमार्ग निर्माणमा एकरूपता : सरकारको नीति समन्वयतर्फको रणनीतिक मोड
८ जेठ, काठमाडौं । नेपालभर निर्माण गरिने पदमार्ग अब एउटै राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसम्बन्धी विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै मापदण्डमा निर्माण गर्ने निर्णय गरेको हो।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंमा बसेको बैठकले सबै तहका सरकारले राष्ट्रिय पदमार्ग मापदण्ड लागू गर्ने निर्णय गरेको छ।
बैठकले पर्यटन विकासका लागि विभिन्न निर्णयहरू गरेको छ। त्यसअनुसार ग्रामीण पर्यटन प्रवर्द्धनमा प्रभावकारी मानिएको होमस्टे सञ्चालन मापदण्ड पनि सबै तहमा कार्यान्वयन गरिनेछ।
त्यस्तै, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादात्म्यता मिलाउन प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइएको छ। साथै, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सहयोग पुर्याउने निर्णय गरिएको छ।
साथै, पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दर्यीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारहरूले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षित गर्न वातावरण निर्माण गर्ने, र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसहित प्रदेशका पर्यटन मन्त्रीहरू र समितिका सदस्यहरूको उपस्थिति थियो। बैठकमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी अपरिहार्य भएको बताए।










