गृहपृष्ठ तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा
रुपन्देही, २३ वैशाख । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिकालाई आज (मंगलबार) औपचारिक रूपमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा गरिएको छ। आश्रमको “मिसन २०८२” अभियान अन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा हो, जसको उद्देश्य मुलुकभरिका सडकआश्रित, बेसहारा तथा सहयोगापेक्षी मानवहरूलाई पुनःस्थापित गर्ने हो।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार, सन् २०८२ भित्र देशभरका सबै स्थानीय तह र प्रदेशहरूलाई यस अभियानमा समेट्ने योजना रहेको छ। उनले यो वर्षको अन्त्यसम्मै नेपाललाई पूर्ण रूपमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ देश घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए।
घोषणा कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, तिलोत्तमा नगर प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र सरोकारवाला निकायहरू सहभागी थिए। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले घोषणापत्र वाचन गर्दै औपचारिक रूपमा मानवसेवा आश्रमका अध्यक्षलाई हस्तान्तरण गरेका थिए। यस घोषणासँगै नगरक्षेत्रमा अब कसैले पनि बेवारिसे, बेसहारा, अशक्त वा अनाथ अवस्थामा सडकमा बस्नुपर्ने बाध्यता अन्त्य भएको जनाइएको छ।
मानवसेवा आश्रमले पछिल्लो १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचारपश्चात् खाना, आवास, स्वास्थ्य सेवा र शिक्षाको समुचित व्यवस्थापन गर्दै आएको छ। आश्रमको यो पहल सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धनमा उदाहरणीय कदमका रूपमा हेरिएको छ।








