गृहपृष्ठ लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
चैत्र ४, २०८२
बुटवल टाइम्स
बुटवल – मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
बैठकले “प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२” स्वीकृत गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए। उक्त निर्देशिकाले प्रदेशका प्राथमिकता प्राप्त आयोजनाहरूको छनोट, व्यवस्थापन तथा कार्यान्वयनलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
निर्णयअनुसार विनोद लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी दिइएको छ भने नारद गौतमलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिइएको छ।
स्वास्थ्य सेवातर्फ विभिन्न चिकित्सकहरूको पदस्थापन गरिएको छ। रोशन लाल चौधरीलाई स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका (देउखुरी)मा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पठाइएको छ भने डा. राजेन्द्र कुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रुपन्देहीमा सोही जिम्मेवारी दिइएको छ।
त्यसैगरी डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा. पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पताल र डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा जिम्मेवारी दिइएको छ।
बुटवल प्रादेशिक अस्पतालमा डा. अनुप थापा, डा. भुवन पौडेल र डा. सुरेन्द्र कुँवरलाई विभिन्न विशेषज्ञ पदमा पदस्थापन गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा डा. पुष्पराज जोशी, डा. कृष्ण हरि सुवेदी, डा. प्रभात पोख्रेल र डा. गोपाल प्रसाद ज्ञवालीलाई प्रमुख कन्सल्टेन्टका रूपमा जिम्मेवारी दिइएको छ।
यसैगरी प्रदेश इन्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इन्जिनियरका रूपमा पदस्थापन गरिएको छ भने प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ।










