गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचनः चार जोडी श्रीमान्–श्रीमती र तीन जोडी दाजुभाइ चुनावी मैदानमा
प्रतिनिधिसभा निर्वाचनः चार जोडी श्रीमान्–श्रीमती र तीन जोडी दाजुभाइ चुनावी मैदानमा
माघ ८, २०८२
काठमाडौँ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमती र तीन जोडी दाजुभाइ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मंगलबार देशभर उम्मेदवारी दर्ता हुने क्रममा एउटै परिवारका सदस्यहरू फरक–फरक वा एउटै दलबाट चुनावी मैदानमा देखिएका हुन्।
नेकपा एमालेबाट दुई जोडी श्रीमान्–श्रीमती उम्मेदवार बनेका छन् भने नेकपा र आम जनता पार्टीबाट एक–एक जोडी चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
एमालेका रघुवीर महासेठ र जुलीकुमारी महतोले धनुषाका फरक–फरक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। जुली महतोले धनुषा–३ बाट उम्मेदवारी दिएकी छन् भने उनका श्रीमान् रघुवीर महासेठले धनुषा–४ बाट उम्मेदवारी दर्ता गराएका छन्। महासेठ तीन पटक संघीय सांसद भइसकेका पूर्वमन्त्री हुन् भने जुली महतो २०६४ मा संविधानसभा सदस्य भएकी थिइन्। उनी २०७४ र २०७९ मा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
एमालेकै अर्को जोडी सिन्धुपाल्चोकका शेरबहादुर तामाङ र उषाकला राई हुन्। तामाङले सिन्धुपाल्चोक–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। उनी पूर्व कानुनमन्त्रीसमेत हुन्। उनकी श्रीमती उषाकला राई भने समानुपातिक सूचीमा परेकी छन्। राई कोशी प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्रीसमेत भइसकेकी छन्।
नेकपाबाट नेता देवेन्द्र पौडेल र उनकी श्रीमती बलावती शर्मा पनि चुनावी मैदानमा छन्। पौडेल नवलपरासी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् भने बलावती शर्मा समानुपातिकतर्फ खस आर्य महिलाको सूचीमा पहिलो नम्बरमा रहेकी छन्। पौडेल पूर्व शिक्षामन्त्री हुन्।
आम जनता पार्टी (आजपा) बाट पत्रकार ऋषि धमला रौतहट–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। उनकी श्रीमती एलिजा गौतम सोही पार्टीको समानुपातिक सूचीमा समावेश भएकी छन्। गौतम हालै आजपामा प्रवेश गरेकी हुन्।
यस्तै, डोल्पामा सहोदर दाजुभाइ नै एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपाबाट धनबहादुर बुढा र नेपाली कांग्रेसबाट कर्णबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्। धनबहादुर यसअघि तीन पटक निर्वाचित भइसकेका छन् भने कर्णबहादुर पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन्।
त्यस्तै स्वर्गीय पूर्वमन्त्री दीपक बोहराका दुई छोरा पनि निर्वाचनमा होमिएका छन्। राप्रपाबाट प्रज्वल बोहराले रुपन्देही–१ र गौरव बोहराले रुपन्देही–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। दीपक बोहराको निधनपछि रिक्त रहेको रुपन्देही–३ मा अब २१ फागुनमा निर्वाचन हुँदैछ।










