गृहपृष्ठ इन्डोनेसियामा सांसदको तलब वृद्धि निर्णयविरुद्ध उग्र प्रदर्शन, राष्ट्रपति प्रबोवोले चीन भ्रमण रद्द

इन्डोनेसियामा सांसदको तलब वृद्धि निर्णयविरुद्ध उग्र प्रदर्शन, राष्ट्रपति प्रबोवोले चीन भ्रमण रद्द


 भदौ १६ ।
काठमाडौं । इन्डोनेसियामा सांसदहरूको तलब वृद्धि गर्ने निर्णयविरुद्ध आन्दोलन तीव्र बनेको छ। राजधानी जकार्ता मात्र होइन, अन्य सहरहरूमा समेत प्रदर्शन उग्र रूप लिँदै हिंसात्मक बन्दै गएको छ।

शुक्रबार राति दक्षिण सुलावेसी प्रान्तको मकासर सहरमा प्रदर्शनकारीहरूले क्षेत्रीय संसद् भवनमा आगजनी गरेका थिए। हालसम्म कम्तीमा ६ जनाको ज्यान गएको र २०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले आन्दोलन चर्किएपछि शनिबार चीन भ्रमण रद्द गरेका छन्। उनले सेप्टेम्बर ३ मा आयोजना हुने दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वार्षिकोत्सव (विजय दिवस समारोह) मा सहभागी हुन चीन जाने कार्यक्रम तय भएको थियो। तर, देशको अस्थिर अवस्थालाई ध्यानमा राख्दै उनले यात्रा स्थगित गर्दै आन्तरिक व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

राष्ट्रपतिका प्रवक्ताले प्रबोवोले चीन सरकारसँग औपचारिक रूपमा माफी मागेको र तत्कालको प्राथमिकता नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्नु रहेको बताएका छन्।

आन्दोलनको कारण र जनआक्रोश

सांसदहरूको मासिक भत्ता ३ हजार ५७ अमेरिकी डलर निर्धारण गरिएको थियो, जुन राजधानी जकार्ताको न्यूनतम तलबभन्दा करिब १० गुणा बढी पर्छ। यही निर्णयले आमनागरिकलाई उत्तेजित बनाएको हो।

यससँगै बढ्दो महँगी, बेरोजगारी, रोजगारी कटौती, करसम्बन्धी असन्तोष र सार्वजनिक सेवामा सुधारको मागसहित आन्दोलन फैलिएको छ। प्रदर्शनकारीहरूले आउटसोर्सिङ बन्द गर्ने, तलब बढाउने, कर प्रणाली सुधार गर्ने लगायतका माग अघि सारेका छन्।

डेलिभरी ब्वाईको मृत्युबाट भड्किएको स्थिति

हिंसात्मक आन्दोलन भड्किनुमा हालैको एक घटना मुख्य कारण बनेको बताइन्छ। इन्डोनेसियाली प्रहरीको गाडीले मोटरसाइकलमा सवार एक डेलिभरी ब्वाईलाई ठक्कर दिँदा मृत्यु भएको थियो। उक्त घटनापछि प्रहरीविरुद्ध नागरिकको आक्रोश चरममा पुगेको छ।

सात जना प्रहरी अधिकारीलाई हिरासतमा लिइएको छ। तर, प्रदर्शनकारीहरूले प्रहरी प्रमुखको राजीनामा माग्दै प्रशासनमा सुधारको दबाब बढाइरहेका छन्।

प्रहरीमाथि मानवअधिकार उल्लंघनको आरोप

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप पनि उठेको छ। कानुनी सहायता संस्थाहरूले प्रहरीले रबरको मात्र नभई केही स्थानमा सक्कली गोली समेत प्रयोग गरेको भन्दै कडा निन्दा गरेका छन्। यसलाई मानवअधिकार उल्लंघनको घटना बताइएको छ।

राष्ट्रपति प्रबोवोको अपिल

राष्ट्रपति प्रबोवोले नागरिकलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न आग्रह गरेका छन्। साथै उनले घटनाको छानबिन गर्ने आदेश दिँदै मृतकका परिवारसँग भेट गरेर संवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु