गृहपृष्ठ सुस्ताका विद्यालयमा गुणस्तरीय शिक्षातर्फको यात्रा, विद्यार्थी संख्या बढ्दै
सुस्ताका विद्यालयमा गुणस्तरीय शिक्षातर्फको यात्रा, विद्यार्थी संख्या बढ्दै
सम्झना पौडेल,
सुस्ता–५, नवलपरासी
१९ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सुरु भएसँगै विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। शिक्षाको गुणस्तर अभिवृद्धिसँगै विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ।
सुस्ता–२ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय, २०७३ सालमा स्थापना भएको हो। विद्यालयका प्रधानाध्यापक सुनिल पन्थीका अनुसार, हाल नर्सरीदेखि कक्षा १२ सम्म ८३४ विद्यार्थी अध्ययनरत छन्। कक्षा ३ सम्म प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम लागू गरिएको छ भने २०८० सालदेखि एलकेजी, युकेजी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो। विद्यालयले आगामी वर्षहरूमा कक्षा १० सम्म अङ्ग्रेजी माध्यम विस्तार गर्ने योजना बनाएको छ।
विद्यालयमा कम्प्युटर ल्याब स्थापना भइसकेको छ। यद्यपि खेलकुद सामग्री, विज्ञान प्रयोगशाला, र शैक्षिक उपकरणको अभाव अझै छ। विद्यालयमा बाल रेडक्रस, स्काउट समिति, विषय संयोजक, तह समन्वयकर्ता, र सूचना शिक्षकजस्ता संरचनाहरू निर्माण गरिएको छ, जसले संस्थागत व्यवस्थापनमा सुधार ल्याएको छ।
सुस्ता गाउँपालिकामा हाल २५ वटा विद्यालय सञ्चालनमा छन्। तीमध्ये १७ सामुदायिक, २ धार्मिक, र ६ मदरसा विद्यालय रहेका छन्।
गाउँपालिकाको सबैभन्दा पुरानो विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय छिबनी हो, जसको स्थापना २०१६ सालमा भएको हो। यहाँ हाल ३३ जना शिक्षक कार्यरत छन् र कक्षा १० सम्म ६३४ विद्यार्थी अध्ययनरत छन्। कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन भइरहेको छ।
छिबनी विद्यालयकी शिक्षिका बिन्दु मुडवारीका अनुसार, विद्यालय भवन जीर्ण भएको कारण समयमै मर्मतको आवश्यकता रहेको छ। साथै, पिउने पानी, शैक्षिक सामग्री, र इनभर्टर जस्ता सुविधाहरूको समेत अभाव छ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शिक्षा बिना विकास सम्भव छैन। त्यसैले हामी शिक्षामा लगानीलाई निरन्तरता दिइरहेका छौं।”
उपाध्यक्ष गीता चौधरीका अनुसार, पालिकाले हरेक वर्ष विद्यालयमा बजेट विनियोजन गर्दै आएको छ। उनले भनिन्, “यदि विद्यालयहरूमा NCC तालिम सञ्चालन गरियो भने विद्यार्थीहरूको अनुशासन र भविष्य दुवैमा सकारात्मक प्रभाव पर्नेछ।”
सारांशमा, सुस्ता गाउँपालिकाका विद्यालयहरू शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै आधुनिक शिक्षण प्रणाली अवलम्बन गर्ने दिशामा अघि बढिरहेका छन्। यद्यपि, संरचनात्मक पूर्वाधार, प्राविधिक स्रोत, र शिक्षक तालिममा अझै सुधार आवश्यक देखिन्छ।










