गृहपृष्ठ सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक
सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक
२० जेठ, सियोल । दक्षिण कोरियामा लामो समयदेखि चलेको आन्दोलनपछि नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार मतदान सुरु भएको छ। पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिनापछि जनताले लोकतान्त्रिक अभ्यासमा भाग लिँदै नयाँ नेतृत्व चुन्ने अवसर पाएका हुन्।

मतदान बिहान ६ बजेदेखि सुरु भई बेलुका ८ बजेसम्म चल्नेछ। करिब ४ करोड ४३ लाख ९१ हजार मतदाताले १४ हजारभन्दा बढी मतदान केन्द्रबाट मतदान गर्नेछन्। निर्वाचन आयोगका अनुसार दिउँसोसम्म ६२.१ प्रतिशत मतदान भइसकेको छ, जुन अघिल्लो चुनावको तुलनामा उच्च हो।
यो चुनावमा लिबरल उम्मेदवार ली जे म्युङ र कन्जरभेटिभ उम्मेदवार किम मुन सु प्रमुख प्रतिस्पर्धी हुन्। मतदानको दिन कुनै प्रचारप्रसार अनुमति छैन। युन र उनकी पत्नी किम केओन हीले आफ्नै क्षेत्रको केन्द्रमा मतदान गरिसकेका छन्।
दक्षिण कोरियामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। निर्वाचन आयोगले अन्तिम मतगणना अनुमोदन गरेपछि विजेता औपचारिक रूपमा राष्ट्रपति घोषित हुनेछ।










