गृहपृष्ठ नेसपा फेरि विवादमा: माओवादीसँगको एकता प्रक्रियाले ल्यायो नेतृत्वको द्वन्द्व
नेसपा फेरि विवादमा: माओवादीसँगको एकता प्रक्रियाले ल्यायो नेतृत्वको द्वन्द्व
बिहीबार, ०८ जेठ २०८
काठमाडौँ — पटक–पटकको विभाजनको सामना गरिसकेको नेपाल समाजवादी पार्टी (नेसपा) फेरि आन्तरिक अन्तरविरोधको चपेटामा परेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा उत्पन्न विवादले फेरि नेसपाको भविष्य अन्योलमा परेको हो।
२०७८ चैत ३ गते, तत्कालीन अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीचको विवादपछि नेसपा विभाजनमा पुगेको थियो। त्यसयता भट्टराईले ‘नयाँ शक्ति’को पुनर्गठन गरी महाधिवेशनसमेत सम्पन्न गरिसकेका छन्। यता, यादव नेतृत्वको नेसपा भने १४ महिनामै पुनः विभाजनको संघारमा पुगेको देखिन्छ।

नेकपा माओवादी केन्द्रसँगको सम्भावित एकता प्रक्रियालाई लिएर अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठबीच वैचारिक र सैद्धान्तिक मतभेद गहिरिँदै गएको छ। वैशाख २७ गते बसेको कार्यकारिणी समितिको बैठकले जेठ मसान्तसम्म एकता प्रक्रिया निष्कर्षमा पुर्याउने निर्णय गरे पनि, नेतृत्वस्तरमा सहमति नजुट्दा विवाद सतहमा आएको हो।
यादव माओवादीसँग “रूपान्तरणसहितको एकता”को पक्षमा छन्। उनले पार्टीको नाम परिवर्तनलगायत माओवादी ‘फुर्को’ हटाउनुपर्ने शर्त अघि सारेका छन्। भर्खरै, वैशाख २६ गते प्रचण्ड र यादवबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेन।
यता, श्रेष्ठ भने बिना शर्त एकता गर्नुपर्ने अडानमा छन्। उनले जेठ ११ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएर एकता प्रक्रिया अगाडि बढाउने प्रयास गरेका छन्। तर यादव पक्षले उक्त बैठकलाई आधिकारिक नभनी आपत्ति जनाएको छ।
महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै माओवादीसँग ‘रूपान्तरणसहित’ मात्र एकता सम्भव हुने बताएका छन्। उनले जेठ १२ गते प्रचण्डसँग निर्णायक छलफल हुने बताएका छन्।
श्रेष्ठ भने “एकता प्रक्रिया आन्तरिक छलफलको चरणमा रहेकाले ठूलो विवाद छैन” भन्छन्। उनका अनुसार केन्द्रीय कार्यकारिणी समितिले पनि एकता प्रक्रिया जेठ मसान्तभित्र टुंग्याउने निर्णय गरिसकेको छ।
विभाजनको पीडाबाट माओवादी पृष्ठभूमिका मोहन वैद्य ‘किरण’को नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि अछुतो रहेन। २०८१ साल साउनमा पार्टीभित्र लगातार दुईपटक विभाजन भयो। पार्टीको कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ होस् कि नरहोस् भन्ने विषयमा वैद्य र सहसंयोजक धर्मेन्द्र बास्तोला समूहबीच मतभेद चुलिएपछि साउन १ गते पार्टी टुक्रियो।
यसपछि साउन २८ गते सचिवालय बैठक चलिरहँदा वरिष्ठ नेताहरू भूपेन्द्र न्यौपाने, हरिकृष्ण गजुरेल र वसन्त बोगटी नेतृत्वमा युवा समूहले विद्रोह गरे। हाल दुवै पक्षले पृथक महाधिवेशन सम्पन्न गरी आ–आफ्नो नेतृत्व पुनर्गठन गरिसकेका छन्। वैद्य क्रान्तिकारीको महासचिवमा चयन भएका छन् भने बास्तोला नेकपा बहुमतका महासचिव बनेका छन्।
नेकपा (विप्लव)ले २०७७ फागुनमा सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको भए पनि, माओवादी केन्द्रसँगको प्रस्तावित एकता अहिलेसम्म निष्कर्षमा पुगेको छैन। प्रचण्डले निरन्तर एकता प्रक्रिया झुलाउँदै आएको विप्लव नेतृत्वको गुनासो छ। उनीहरू अहिले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अगाडि बढाइरहेका छन्।
पूर्व प्रधानमन्त्री तथा विचारक डा. बाबुराम भट्टराईले २०७२ सालमा माओवादी केन्द्र त्याग्दै वैकल्पिक शक्ति निर्माणको घोषणा गरेका थिए। तर २०७४ को निर्वाचनपछि उपेन्द्र यादवको संघीय समाजवादी पार्टीमा विलय गरेपछि उनको मूल परियोजना गुमनाम जस्तै भयो।
पछिल्लो समय भट्टराईको साथमा रहेका अधिकांश नेताहरू छुट्टिइसकेका छन्। अहिले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटामात्र भट्टराईको साथमा छन्। यद्यपि, भट्टराईले वैकल्पिक शक्तिको सम्भावना अझै मरेको छैन भन्दै राजनीतिक हस्तक्षेप कायम राख्न खोजिरहेका छन्।










