गृहपृष्ठ सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर जेल चलान

सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर जेल चलान


बागलुङ, जेठ ८ — बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीमाथि ठगी अभियोगमा कास्की जिल्ला अदालतले २० लाख रुपैयाँ धरौटी माग गरेको छ।

मंगलबार न्यायाधीश कृष्णजंग शाहको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी मुद्दामा मेयर नेपालीसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार धरौटी रकम बुझाउन नसकेपछि उनलाई बागलुङ जिल्ला कारागार चलान गरिएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी तथा सुपरिटेन्डेन्ट दामोदर आचार्यका अनुसार नेपालीमाथि सहकारीको उपाध्यक्ष रहेका बेला संस्थाबाट ७७ लाख ५० हजार रुपैयाँ अनधिकृत रूपमा आफ्नो खातामा सारिएको र उक्त रकम फिर्ता नगरिएको आरोप छ। यही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई प्रतिवादीका रूपमा मुद्दा दायर गरेको थियो।

पूर्वसहकर्मी तथा तत्कालीन अध्यक्ष जिबी राईसँग विवादपछि नेपालीले सूर्यदर्शन सहकारी परित्याग गरेका थिए। त्यसपछिका दिनमा उनले पोखरा र बागलुङमा छुट्टाछुट्टै ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ गठन गरेका थिए। तर सूर्यदर्शन सहकारीमा आवधिक हिसाबकिताब नटुंग्याइएको भन्दै सरकारी वकिल कार्यालयले उनलाई प्रतिवादी बनाउनु परेको स्पष्ट पारेको छ।

नेपालीमाथि इमेज सहकारीमार्फत ठगी गरेको अर्को मुद्दा पनि चलिरहेको छ। दुई सहकारीमार्फत करिब दुई अर्ब रुपैयाँ ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। यसै सन्दर्भमा पोखरास्थित इमेज सहकारीको मुद्दा आगामी बिहीबारका लागि पेशी तोकिएको छ।

हाल नेपाली बागलुङ जिल्ला कारागारमा छन्। बिहीबारको पेशीका लागि पनि उनलाई अदालतमा उपस्थित गराउन कारागारमार्फत पत्राचार भइसकेको सूचना अधिकारी आचार्यले जनाएका छन्।

ठगीको अभियोग लागेपछि मेयर नेपाली १६ महिनासम्म फरार थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले २०८१ साल असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु