गृहपृष्ठ चीनको विशेष निमन्त्रणामा भण्डारीको १० दिने भ्रमण, प्रमुख राजनीतिक गोष्ठीमा सहभागिता
चीनको विशेष निमन्त्रणामा भण्डारीको १० दिने भ्रमण, प्रमुख राजनीतिक गोष्ठीमा सहभागिता
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ चीनको भ्रमणमा जाँदैछिन्। चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी दसदिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्न लागेकी हुन्। राष्ट्रपतिको कार्यकाल समाप्त भएयताकै यो उनको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।
भण्डारी नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, नेतृ गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट लगायतको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेकी हुन्।
स्थायी कमिटी सदस्य थापाका अनुसार भ्रमणका क्रममा भण्डारीले चीनका शीर्ष नेताहरूसँग द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछिन्। उनले एक उच्चस्तरीय राजनीतिक गोष्ठीमा प्रमुख अतिथिका रूपमा मन्तव्य दिने कार्यक्रम पनि रहेको छ। उक्त गोष्ठीमा नेपालसहित चीनका अन्य छिमेकी मुलुकका वरिष्ठ नेताहरूको सहभागिता रहनेछ।
“चिनियाँ कम्युनिस्ट पार्टीको विशेष आमन्त्रणमा पूर्वराष्ट्रपतिज्यू चीन जान लाग्नुभएको हो,” थापाले भने, “उहाँ प्रमुख वक्ता रहने उक्त गोष्ठी नेपाल–चीन सम्बन्धका नयाँ आयाम थप्ने अवसर बन्नेछ।”
पूर्वराष्ट्रपति भण्डारीले चीनको विदेश विभागसँग पनि छलफल तथा अन्तर्क्रियामा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ। भ्रमणको समापनपछि उनी जेठ १९ गते स्वदेश फर्किने कार्यतालिका छ।
पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणलाई नेपाल–चीनबीचको बढ्दो सम्बन्धको संकेतका रूपमा समेत विश्लेषण गरिएको छ। एमाले नेताहरूले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग भण्डारीको निकट सम्बन्ध रहेको र यस भ्रमणले त्यसलाई पुनः पुष्टि गर्ने उल्लेख गरेका छन्।
२०७६ साल असोज २५ मा भण्डारीकै राष्ट्रपतित्वकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आएका थिए। त्यसपछिको यो भ्रमण दुई देशबीचको राजनीतिक सम्बन्धको निरन्तरताको रूपमा समेत हेरिएको छ।
यसैबीच, पछिल्लो समय भण्डारीले एमालेसँग पुनः सक्रिय सम्बन्ध बनाउने संकेतहरू देखिएको चर्चा चलिरहेको छ। गण्डकी, कोशी, लुम्बिनी प्रदेशका भ्रमणहरूमा उनले एमाले नेताकार्यकर्तासँगको संवाद बढाएकी छन्। यस्तो पृष्ठभूमिमा भएको चीन भ्रमणले उनको राजनीतिक सक्रियतामा पुनरागमनको संकेतका रूपमा पनि लिइएको छ।










