गृहपृष्ठ लिङ्देनको आरोप : ‘राजा र हिन्दू राष्ट्रको समर्थनले प्रताडित बनाइयो’
लिङ्देनको आरोप : ‘राजा र हिन्दू राष्ट्रको समर्थनले प्रताडित बनाइयो’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू राष्ट्रको समर्थन र संघीयता खारेजीको माग उठाएको आधारमा आफूहरूलाई सरकारले प्रताडित बनाएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “सरकारले हाम्रो विचारलाई अस्वीकार गर्दै लगातार संविधानको धारा १७, २७० र २७४ को उल्लंघन गरिरहेको छ। करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई ‘राजसंस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, संघीयता मान्दिनँ’ भन्ने विचारकै कारण अपमानपूर्वक थुनिएको छ।”
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले हालै गिरफ्तार गरेको खबर आएको छ। उनले विचारकै कारण एकपछि अर्को व्यक्ति पक्राउ गरिँदा लोकतन्त्रमाथि हमला भइरहेको दाबी गरे।
“यदि विचारका कारण यो देशमा मानिसहरू यसरी पक्राउ पर्दै जाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सरकारसमक्ष सभामुखमार्फत् अपिल गर्न चाहन्छु — यस्तो हो भने स्पष्ट भनिदिऊ सरकार, ‘अब विद्रोहमा जाऊ, जंगल पस।’” उनले चेतावनीस्वरूप भने।
लिङ्देनले प्रश्न उठाए, “राजा चाहियो भन्ने, हिन्दू राष्ट्र चाहियो भन्ने, संघीयता खारेज हुनुपर्छ भन्ने, सुशासन र भ्रष्टाचारविरुद्ध बोल्नेहरूलाई नै यदि प्रताडित गरिन्छ भने सरकारले स्वयं विद्रोहको बाटो रोज्न संकेत गरिरहेको हो।”
उनले सरकारका यस्ता गतिविधिहरूलाई अत्यन्त दुःखद्, मानव अधिकारविरोधी र प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्धको क्रियाकलापको संज्ञा दिएका छन्। “संविधानले दिएका अधिकारहरू कुण्ठित भइरहेका छन्,” उनले भने










