गृहपृष्ठ माओवादी, समाजवादीहरूबीच कात्तिक २० मा पार्टी एकता घोषणा, संयोजक प्रचण्ड रहने

माओवादी, समाजवादीहरूबीच कात्तिक २० मा पार्टी एकता घोषणा, संयोजक प्रचण्ड रहने


कार्तिक १६, २०८२

काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दललगायतका दलबीच कात्तिक २० गते पार्टी एकता घोषणा हुने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेको सचिवालय बैठकपछि एकता मिति औपचारिक रूपमा तय गरिएको जानकारी दिएका हुन्।

‘कात्तिक २० गते पार्टी एकता घोषणा हुनेछ,’ प्रवक्ता सापकोटाले भने, ‘सचिवालय बैठकले सांगठनिक र प्राविधिक तयारीहरू टुंगोमा पुर्‍याउने निर्णय गरेको छ।’ उनका अनुसार बाँकी रहेका प्राविधिक विषयमा पनि सहमति जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

यसअघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी (महिन्द्र राय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन)बीच एकता गर्ने सहमति भएको थियो। ती दलबीच लामो समयदेखि जारी छलफलपछि मिति अन्तिम तय भएको हो।

एकीकृत पार्टीको संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने र नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने निर्णय भइसकेको प्रवक्ता सापकोटाले बताए। पार्टीको संरचना, कार्यविभाजन र नीति दिशाबारेका बाँकी कार्यहरू एकता घोषणासँगै सार्वजनिक गर्ने तयारी गरिएको छ।

पार्टी एकता घोषणासँगै वाम–समाजवादी धारका विभिन्न दलहरू एउटै संगठनमा समेटिँदैछन्, जसलाई आगामी राजनीतिक समीकरणका हिसाबले निर्णायक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु