गृहपृष्ठ पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश रोक्ने संवैधानिक प्रावधान छैन : देउवा
पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश रोक्ने संवैधानिक प्रावधान छैन : देउवा
२१ भदौ, २०८२
विराटनगर । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश गर्न संविधानले रोक नगरेको स्पष्ट पारेका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “संविधानमा यसबारे निषेध गर्ने वा अनुमति दिने भनेर स्पष्ट उल्लेख छैन । तर, रोक्ने प्रावधान पनि छैन ।”
हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको कार्यक्रममा सक्रिय देखिएकी छन् तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किइसकेका छन् ।
संविधान संशोधनका विषयमा सोधिएको प्रश्नमा देउवाले दुई तिहाइ बहुमत जुटेपछि मात्र संशोधनको प्रक्रिया अघि बढ्ने बताए । उनले दलहरूबीच त्यसबारे छलफल भइरहेको जानकारी पनि दिए ।
वर्तमान सरकारका मन्त्री फिर्ता गर्नेबारे उठेका प्रश्नमा उनले आफ्नो पार्टीबाट मन्त्री फिर्ता नबोलाइएको र नयाँ मन्त्री पठाउने विषयमा छलफल नै नभएको स्पष्ट पारे ।










