गृहपृष्ठ संसदमा माओवादीको आवाज ः ‘संगठित अपराधको जालो तोड्न विशेष समिति गठन आवश्यक’
संसदमा माओवादीको आवाज ः ‘संगठित अपराधको जालो तोड्न विशेष समिति गठन आवश्यक’
काठमाडौं,
२५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटनाप्रति चासो व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र) ले गम्भीर छानबिनको माग गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले घटनामा संलग्न पक्षको खोजी गर्न विशेष छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए।

सांसद सापकोटाले उक्त तस्करी प्रकरणमा उच्च तहको संलग्नता नभई सम्भव नरहेको दाबी गरे। उनले भने, “यति ठूलो रकमको तस्करी कुनै ठूला कनेक्सनबिना सम्भव छैन। यसमा उच्च तहको भूमिका हुन सक्ने सम्भावना प्रबल छ। त्यसैले निष्पक्ष छानबिन जरुरी छ।”
उनले थपे, “सरकार सुशासनप्रति इमान्दार छैन भन्ने शंका पहिले पनि थियो, अहिले त्यो शंका पुष्टि हुँदै गएको छ। यो घटनाले संगठित अपराधको पहुँच कति गहिरो छ भन्ने कुराको प्रमाण दिएको छ।”
सापकोटाले यस घटनालाई संगठित अपराधको झाँगिएको जालोको रूपमा चित्रण गर्दै त्यसविरुद्ध कडा कारबाहीको आवश्यकता औंल्याए। उनका अनुसार, सरकारको उदासीनता र कमजोर निगरानी प्रणालीले अपराधीहरूलाई प्रश्रय दिइरहेको छ, जसले आम जनतामा गम्भीर असन्तोष र शंका उत्पन्न गराएको छ।










