गृहपृष्ठ प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य
प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य
माघ १३, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दाका सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न निर्देशन दिइन् ।
विकास निर्माणका क्रममा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पर्न नहुने उल्लेख गर्दै उनले आवश्यक परे आयोजना रेखाङ्कन तथा जिरोविन्दु परिवर्तन गर्नसमेत तयार रहन निर्देशन दिएकी हुन् ‘स्थानीयको विश्वासमा आँच नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति हाल करिब ४५ प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्नेछ, जसमा ८२ मिटरसम्म अग्ला विशेष प्रकृतिका पुलहरू रहेका छन् । साथै, ७ वटा सुरुङ निर्माण भइरहेका छन् ।
अग्ला पुल निर्माण अन्तिम चरणमा पुगेकाले आयोजना तोकिएको समय २०८३ चैत मसान्तभित्र र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँभित्रै सम्पन्न हुने नेपाली सेनाले जनाएको छ ।
द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यका र मध्यतराईबीचको दूरी छोटिने, ढुवानी लागत र समय घट्ने तथा देशको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।
















