गृहपृष्ठ स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाइने : गगन थापा
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाइने : गगन थापा
माघ २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा अघि बढाइने बताएका छन्। कांग्रेस नेतृत्वमा सरकार बनेमा स्वास्थ्य बीमालाई प्रभावकारी, व्यवस्थित र सर्वसुलभ बनाइने प्रतिबद्धता उनले व्यक्त गरे।
आइतबार एक भिडियो वक्तव्य जारी गर्दै थापाले स्वास्थ्य बीमा नेपाली कांग्रेसको स्पष्ट राजनीतिक प्रतिबद्धता भएको उल्लेख गरे। ‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ,’ उनले भने।
स्वास्थ्य मन्त्रीका रूपमा कार्यरत रहँदा उपचार खर्चकै कारण धेरै नागरिकको सम्पत्ति सकिएको र गरिबीबाट माथि उठेका परिवार पुनः संकटमा परेको अवस्था नजिकबाट देखेपछि स्वास्थ्य बीमाको योजना अघि सारेको थापाको भनाइ छ।
उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अवधारणाअनुसार नागरिकले आफ्नै खल्तीबाट गर्ने स्वास्थ्य खर्चको अनुपातका आधारमा राज्यको भूमिका मापन गरिने बताए। ‘सामान्यतया २० प्रतिशतभन्दा बढी खर्च नागरिकले आफैं गर्न नपर्ने हो, तर नेपालमा यो अनुपात ५७ प्रतिशत छ,’ उनले भने।
स्वास्थ्य बीमासम्बन्धी आवश्यक कानुन आफ्नै कार्यकालमा बनेको उल्लेख गर्दै थापाले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर वर्गको बीमा शुल्क राज्यले बेहोर्ने व्यवस्था गरिएको बताए। सुरुमा राम्रोसँग अघि बढेको कार्यक्रम पछिल्लो समय अस्तव्यस्त बनेकोप्रति उनले चिन्ता व्यक्त गरे।
‘समाचार सुन्दा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने हो कि भन्ने अवस्था आएको छ,’ थापाले भने, ‘यसलाई सच्याउन र सुधार गर्न अब ढिला गर्नु हुँदैन।’
प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्नेमा जोड दिँदै उनले बीमा कार्यक्रम दीगो बनाउन चरणबद्ध योजना अघि सारे। औपचारिक क्षेत्रबाट सुरु गर्ने, मदिरा र चुरोटजस्ता वस्तुमा कर लगाएर सो रकम स्वास्थ्य बीमामा लगानी गर्ने, छरिएका स्वास्थ्य कार्यक्रमलाई एकीकृत गर्ने, तीन तहका सरकारबीच समन्वय गर्ने र चुहावट रोक्न डिजिटल प्रणाली लागू गर्ने योजना उनले प्रस्तुत गरे।
‘पाँच वर्षे सरकार बनेपछि पहिला अस्तव्यस्तता हटाउँछौँ, त्यसपछि कभरेज बढाउँछौँ र अन्ततः बीमा गरेका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले जिम्मा लिने अवस्थामा पुर्याउँछौँ,’ थापाले भने।
स्वास्थ्य दान नभई नागरिकको सुरक्षा भएको उल्लेख गर्दै उनले भने, ‘हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी। स्वास्थ्य नागरिकको संवैधानिक अधिकार हो र यसलाई सुनिश्चित गर्ने मुख्य आधार स्वास्थ्य बीमा हो।’














