गृहपृष्ठ प्रचण्डको दाबी : आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ

प्रचण्डको दाबी : आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ


माघ २७, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारको हिसाबले नेकपा नै देशकै सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक, उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका अधिकार तथा पहिचान स्थापित गर्ने पार्टी नेकपा मात्रै भएको बताए।

उनले सामाजिक सञ्जालमा ‘नयाँ’ भन्ने भाष्यलाई विचार, सिद्धान्त र राजनीतिक मुद्दासँग नभई पुरानाको विरोधसँग जोडेर प्रस्तुत गर्न खोजिएको टिप्पणी गरे।
‘नयाँ भनेको विचार होइन, मान्यता होइन, सिद्धान्त होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ,’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गर्दै दाहालले पार्टी पंक्तिलाई मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने, मतदान गराउने र नतिजा नआएसम्म सतर्कता अपनाउन निर्देशन दिए।

उनले नेकपाको प्रभाव देशभर फैलिएको दाबी गर्दै ७७ वटै जिल्लामा पार्टीले निर्णायक भूमिका खेल्न सक्ने हैसियत रहेको बताए। काठमाडौं उपत्यकासँगै पोखरा, विराटनगर, भरतपुर, दाङ, नेपालगन्ज र धनगढीजस्ता सहरहरूमा विभिन्न क्षेत्रका नागरिकलाई केन्द्रित गरेर अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो।

प्रचण्डले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना बलियो रहेको दाबी गरे।
‘देशभरि घुम्दा जनतामा देखिएको अवस्था, विपक्षीका कुरा र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाका सर्भे हेर्दा हामी पहिलो पार्टी बन्दैछौँ,’ उनले भने। यसका लागि बाँकी २३–२४ दिन युद्धस्तरमा खटिनुपर्ने उनले बताए।

त्यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सामाजिक सञ्जालमा देखिएको प्रचार जति फिल्डमा प्रभाव नभएको टिप्पणी गरे।
‘जहाँ पहिला जिते, त्यहाँ अहिले ओरालो लागेको छ। उपत्यकामा पनि उनीहरूको प्रभाव देखिँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु