गृहपृष्ठ आचारसंहिता उल्लंघनको आरोपमा पाँच उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण
आचारसंहिता उल्लंघनको आरोपमा पाँच उम्मेदवारसँग निर्वाचन आयोगको स्पष्टीकरण
माघ १३, २०८२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेका उजुरीका आधारमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतसँग स्पष्टीकरण मागिएको छ ।
बालेनको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
कमल भुसाल (निकोलस) को हकमा जेन–जी आन्दोलनसँग सम्बन्धित आइकोनिक जुत्तालाई चुनाव चिन्ह भन्दै प्रचार गरेको विषयमा उजुरी परेको छ । हर्क साम्पाङको हकमा चुनावी प्रचारका क्रममा बालबालिका प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण मागिएको हो ।
त्यसैगरी, भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई बालेनप्रति अपमानजनक शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।
यसै निर्वाचन क्षेत्रकी उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यस्तै, निर्वाचन आचारसंहिता लागु भइसकेपछि अनुमति नलिइ अधिवेशन आयोजना गरेको भन्दै स्वास्थ्य स्वयंसेवक संघसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।










