गृहपृष्ठ चुनावको रौनकबीच बढ्दो युवा पलायन

चुनावको रौनकबीच बढ्दो युवा पलायन


माघ १२, २०८२

काठमाडौँ । देशमा प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता र निर्वाचन चिह्न वितरण सम्पन्न भइसकेको छ। देशभर ३ हजार ४ सय ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनको चहलपहल गाउँ–गाउँमा बढ्दै जाँदा अर्कोतर्फ वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या पनि घटेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रूपमा वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाको भिड देखिन्छ।

युवाहरूले रोजगारी र भविष्यको सुनिश्चितता नहुँदा चुनावको समयमा समेत देश छाड्न बाध्य भएको बताएका छन्। ‘भोट हाल्नु अधिकार हो, तर पेट पाल्नु बाध्यता हो,’ विदेश जाने तयारीमा रहेका युवाहरूको साझा भनाइ छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ५ लाख ९० हजार ७ सय १८ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली विदेशिएको देखिन्छ।

पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन्। प्रमुख गन्तव्यमा साउदी अरब, कतार, यूएई, मलेसिया र कुवेत रहेका छन्।

राजनीतिक दलहरूले युवा नेतृत्व, सुशासन र समृद्धिको नारा दिए पनि रोजगारीको अभावले युवा पलायन रोकिएको छैन। सरोकारवालाहरूले आगामी सरकारले मुलुकभित्रै रोजगारी सिर्जना गर्ने प्रभावकारी नीति ल्याउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु