गृहपृष्ठ पुटिनको चेतावनी : युक्रेनमा विदेशी सैनिक पठाउने प्रस्ताव अस्वीकार

पुटिनको चेतावनी : युक्रेनमा विदेशी सैनिक पठाउने प्रस्ताव अस्वीकार


भदौ २१, २०८२

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धविरामपश्चात पठाइने भनिएको पश्चिमी देशहरूको ‘रिअस्युरेन्स फोर्स’ प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्।

गत बिहीबार पेरिसमा सम्पन्न शिखर बैठकपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले २६ मित्रराष्ट्रहरूले भूमि, समुद्र वा हवाईमार्गबाट युक्रेनमा सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएका थिए। तर सहभागी हुने मुलुकहरूको नाम भने खुलाइएको छैन।

पुटिनले सो प्रस्तावलाई ‘अवैध हस्तक्षेप’ भन्दै चेतावनी दिए, “युक्रेनमा विदेशी सैनिक देखिए, ती वैध सैन्य लक्ष्य मानिनेछन्।”


शान्ति पहल र अनिश्चित भविष्य

अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौताबारे आशा पलाएको थियो। तर हालको अवस्थामा तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको विश्लेषणकर्ताहरू बताउँछन्।

पुटिनले पत्रकारहरूसँग भने, “युक्रेनी नेतासँग सम्पर्क गर्न म तयार छु, तर प्रमुख विषयमा सहमति सम्भव छैन।”


ट्रम्पको ‘चीनतर्फ ढल्किएको’ टिप्पणी

ट्रम्पले सामाजिक सञ्जालमार्फत भारत र रुस चीनतर्फ नजिकिएको दाबी गर्दै तिञ्जिनमा भएको त्रिपक्षीय बैठकको तस्वीरसमेत सार्वजनिक गरेका छन्। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको पहललाई ‘रचनात्मक’ भनेका छन्, तर युरोपेली मुलुकहरूको योजनालाई ‘युद्ध लम्ब्याउने काम’ भनेर आलोचना गरे।


पश्चिमी गठबन्धनको तयारी

‘कोएलिसन अफ द विलिङ’ नामक समूह (बेलायत–फ्रान्स नेतृत्वमा) युद्धविरामपछि सुरक्षाका लागि युक्रेनको सेना सुदृढ बनाउने र सीमा क्षेत्रमा गस्ती गर्ने तयारीमा छ।
म्याक्रोनले सुरक्षा बलको उद्देश्य ‘रुससँग प्रत्यक्ष युद्ध गर्ने होइन, अर्को ठूलो आक्रमण रोक्ने मात्र’ भएको स्पष्ट पारेका छन्।


जेलिन्स्की र अमेरिकाको भूमिका

युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिस बैठकलाई ‘पहिलो ठोस कदम’ भनेका छन्। उनले हजारौँ विदेशी सैनिक युक्रेन पठाइने बताएका भए पनि विवरण अझै अस्पष्ट छ।
अमेरिकाले आफ्नो सहभागिता प्रस्ट्याएको छैन। म्याक्रोनका अनुसार केही दिनमै वासिङ्टनको भूमिका स्पष्ट हुनेछ। ट्रम्पले भने अमेरिकाको सहयोग ‘हवाई सुरक्षामा’ केन्द्रित हुने संकेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु