गृहपृष्ठ नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’
नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’
११ जेठ, काठमाडौं — शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालको चिकित्सा इतिहासमा एक महत्वपूर्ण सफलता हात पारेको छ। केन्द्रले मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरी विश्वमै दुर्लभ मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठका अनुसार, “संसारमै गिन्तीका बिरलै केसहरूमध्ये पर्ने यस्तो जटिल शल्यक्रियामा एकैपटक दुई अंग—मिर्गौला र कलेजो—प्रत्यारोपण हुनु असाधारण उपलब्धि हो।”
५१ वर्षीय पुरुषमा दुई अंगको प्रत्यारोपण, अर्की महिलाले मिर्गौला पाएकी
मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गरिएको हो। सोही दाताबाट प्राप्त अर्को मिर्गौला काठमाडौंकी ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको छ। दुबै बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र चाँडै डिस्चार्ज हुने तयारीमा रहेको केन्द्रले जनाएको छ।
अंगदानका लागि काठमाडौं मेडिकल कलेजमा दुर्घटनापछि मस्तिष्क मृत घोषणा गरिएका १८ वर्षीय युवकको अंग संकलन गरिएको थियो। उक्त युवकबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो।
नेपाली चिकित्सककै नेतृत्वमा सफल शल्यक्रिया
जेठ १ गते सम्पन्न शल्यक्रियाको नेतृत्व डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए। कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनको सहयोग थियो भने मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्कालगायतले भूमिका निर्वाह गरेका थिए।
एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ लगायतको टोली संलग्न थियो। नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्यको समेत सहभागिता रहेको थियो।
केन्द्रमा अहिलेसम्म ३४ कलेजो प्रत्यारोपण
वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विशेषज्ञको सहयोगमा केन्द्रले कलेजो प्रत्यारोपण सुरु गरेको हो। पूर्ण रूपमा नेपाली चिकित्सकको नेतृत्वमा पहिलो कलेजो प्रत्यारोपण २०७५ कार्तिक १२ गते सम्पन्न भएको थियो।
अहिलेसम्म केन्द्रले ३४ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यहाँ ३ वर्षका बालकदेखि ६८ वर्षसम्मका बिरामीमा प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपणमा केन्द्रले सम्भवत: संसारमै सबैभन्दा कम लागत—१५ देखि २० लाख रुपैयाँ—लाग्ने दाबी गरिएको छ।
मस्तिष्क मृत्यु भएका ६ व्यक्तिबाट १५ जनाको जीवनरक्षा
२०७४ वैशाख २८ गते केन्द्रले पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो। त्यसयता ६ जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १२ जनालाई मिर्गौला र ४ जनालाई कलेजो प्रत्यारोपण गरी कुल १५ जनालाई जीवनदान दिइएको छ।
नेपालमा हरेक दिन सडक दुर्घटनाबाट ४ देखि ६ जनाको मृत्यु हुने तथ्यांक छ। काठमाडौं उपत्यकामा मात्र वार्षिक झन्डै १,००० मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ।
“एक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यान्क्रियाज र एक सानो आन्द्रा गरी आठ जनालाई नयाँ जीवन दिन सकिन्छ,” डा. श्रेष्ठ भन्छन्, “अरूको जीवन बचाउन अंगदान गर्ने मञ्जुरी दिनुभन्दा ठूलो महादान केही हुन सक्दैन।”










