गृहपृष्ठ सरकार–शिक्षक ९ बुँदे सहमति: माग पुरा गर्न ८ अर्बको आर्थिक बोझ
सरकार–शिक्षक ९ बुँदे सहमति: माग पुरा गर्न ८ अर्बको आर्थिक बोझ
२०८२ वैशाख १७ गते
काठमाडौं । शिक्षकहरूको माग सम्बोधनका लागि भएको संवादपछि सरकार र शिक्षक प्रतिनिधिहरूबीच ९ बुँदे सहमति भएको छ। शिक्षामन्त्री रघुजी पन्तले मङ्गलबार पत्रकार सम्मेलनमार्फत उक्त सहमतिको जानकारी दिएका हुन्।
उनका अनुसार सहमतिका बुँदाहरू कार्यान्वयन गर्दा सरकारलाई थप ८ अर्ब रुपैयाँ बराबरको आर्थिक भार पर्न जानेछ। यो रकम शिक्षासम्बन्धी पूर्वाधार विस्तार, शिक्षक दरबन्दी समायोजन, सेवा सुविधा सुधार, तालिम तथा प्रविधि व्यवस्थापनजस्ता पक्षमा खर्च हुनेछ।
शिक्षामन्त्री पन्तका अनुसार सहमतिको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको प्रगति बारे पटक-पटक जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका थिए। “प्रधानमन्त्रीज्यूले यो विषयलाई प्राथमिकतामा राख्नुभएको थियो,” उनले भने, “उनको सक्रियता र नेतृत्वबिना यो सहमति सम्भव हुने थिएन।”
त्यस्तै, वार्तामा अर्थतर्फ देखिएको चुनौती समाधान गर्न र शिक्षकका मागहरू सम्बोधन गर्न आवश्यक बजेट व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई पनि मन्त्री पन्तले धन्यवाद दिएका छन्। “अर्थ मन्त्रालयको प्रतिबद्धता र सकारात्मक सहयोगले हामी सहमतिमा पुग्न सफल भयौँ,” उनले थपे।










