गृहपृष्ठ नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ
नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ
पुस २९, २०८२
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले मंगलबार शपथ ग्रहण गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। हाल नेकपाको केन्द्रीय सदस्य संख्या २ हजार ४९९ कायम गरिएको छ। यद्यपि उक्त कमिटीलाई औपचारिक रूपमा महाधिवेशन आयोजक कमिटी भनिएको छ।
पार्टी एकतापश्चात गठन हुने केन्द्रीय समिति १९९ सदस्यीय हुने सहमति रहेको छ। मंगलबार झन्डै साढे २ हजार केन्द्रीय सदस्यहरूले मात्र शपथ लिएका छन् भने पूर्व–माओवादी केन्द्रबाट थप करिब २ सय केन्द्रीय सदस्य टुंगिन बाँकी रहेको बताइएको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ ग्रहण गरेका थिए। त्यसपछि संयोजक प्रचण्डले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।
केन्द्रीय सदस्यहरूको ठूलो भीड भएकाले उनीहरूलाई पार्टी कार्यालयको प्राङ्गणमै शपथ गराइएको थियो।










