गृहपृष्ठ रसुवामा उद्धारका लागि दक्षिण कोरियाबाट ४४ सदस्यीय टोली नेपाल आउँदै
रसुवामा उद्धारका लागि दक्षिण कोरियाबाट ४४ सदस्यीय टोली नेपाल आउँदै
भदाै १६,२०८३
बुटवल टाइम्स
काठमाडौँ । रसुवा क्षेत्रमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ।
दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको आग्रहअनुसार टोली पठाउन लागिएको जनाएको हो।
परराष्ट्र मन्त्रालय तथा अग्नि नियन्त्रण निकायका अधिकारी सम्मिलित उक्त टोली सैन्य यातायात विमानमार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गर्नेछ। टोलीले नेपालमा करिब १० दिनसम्म खोज, उद्धार तथा राहतसम्बन्धी काम गर्ने जनाइएको छ।
गत साता आएको विनाशकारी बाढीमा एक जलविद्युत् आयोजनामा कार्यरत नौ जना कोरियाली कामदार बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि दक्षिण कोरियाले यसअघि नै द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो।
तर सुरुवाती चरणमा नेपाली सेनाले लागू गरेको उडान प्रतिबन्धका कारण उक्त टोली प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएको थियो। कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक स्वीकृति पाएपछि उक्त टोलीले शनिबारदेखि शंकास्पद स्थानमा हवाई खोजी अभियान सुरु गरिसकेको छ।

















