गृहपृष्ठ सहकारी ठगी मुद्दा: रवि र छविलालको आजको पेसी फेरि स्थगित
सहकारी ठगी मुद्दा: रवि र छविलालको आजको पेसी फेरि स्थगित
मंसिर ४, २०८२
रास्वपा सभापति रवि लामिछाने र सहप्रतिवादी छविलाल जोशी ले बिगोबमोजिम रकम बुझाइसकेकाले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दिएको निवेदनमाथिको आज बुटवल उच्च अदालतमा हुनुपर्ने सुनुवाइ स्थगित भएको छ।
रविको अर्को मुद्दाको पेसी पाटन उच्च अदालतमा परेको कारण उनका कानुन व्यवसायीले स्थगन माग गरेपछि सुनुवाइ रोकिएको हो।
यसअघि उच्च अदालतले सर्वोच्च अदालतमा रहेको मूल मिसिल मगाउन आदेश दिइसकेको थियो र मिसिल प्राप्त भएपछि आजका लागि पेसी राखिएको थियो।
लामिछाने र जोशी दुबैको मुद्दा एउटै प्रकृतिको भएकाले अदालतले दुवै निवेदनलाई एकैसाथ हेर्ने आदेश दिएको छ।
सहकारी ठगी मुद्दामा अभियोगपत्रले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकेको छ।
त्यसको एक–एक भाग (करिब २ करोड ७४ लाख ८४ हजार) बराबर दुबै प्रतिवादीले बैंक जमानत पेस गरिसके पनि व्यक्तिगत बिगो कति पर्छ भन्ने प्रष्ट नभएकाले जिल्ला अदालतले उनीहरूलाई थुनामुक्त नगरिएको थियो।
हाल रवि लामिछाने नख्खु कारागार, र छविलाल जोशी भैरहवा कारागारमा रहेका छन्।









