गृहपृष्ठ कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत
कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत
आश्विन ३१, २०८२
३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ ।
सहरी विकास मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गर्दै उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा घोषणा गरेको हो । उक्त गुरुयोजना अनुसार रंगशाला निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङका अनुसार यो परियोजना नेपालकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदान बन्नेछ, जसले खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनेछ ।
“अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न उपयुक्त, सुविधा सम्पन्न रंगशाला निर्माण अहिलेको राष्ट्रिय आवश्यकता हो,” मन्त्री घिसिङले भने, “गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई तीव्र बनाइनेछ ।”
सरकारले यस आयोजनालाई प्राथमिकतामा राख्दै जग्गा सम्झौता, वातावरणीय प्रभाव मूल्यांकन (EIA) र दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति दिएको छ ।
केही दिनअघि कीर्तिपुरस्थित रंगशालाको स्थलगत निरीक्षण गरेका मन्त्री घिसिङले परियोजना गुरुयोजना अनुसार अघि बढिरहेको र बजेट अभाव हुन नदिने गरी दोस्रो चरणको काम अघि बढाइने बताएका थिए ।
त्रिवि र नेपाल क्रिकेट संघबीचको जग्गा प्रयोग सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ । मन्त्रिपरिषद्ले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त क्षेत्रलाई रंगशालाका रूपमा प्रयोग गर्न त्रिवि, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच नयाँ सम्झौता गर्न निर्देशन दिएको छ ।
हाल रंगशालाको पहिलो चरणका संरचनाहरू निर्माणाधीन छन् । आयोजना पक्षले आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।










