गृहपृष्ठ सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट कार्य सम्पन्न, लाइनिङ तीव्र गतिमा

सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट कार्य सम्पन्न, लाइनिङ तीव्र गतिमा


पाल्पा, असार १८ —
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। सुरुङमार्ग आयोजना कार्यालयका अनुसार मुख्य टनेलको १ हजार ८९ मिटर लामो खण्डमा इन्भर्ट निर्माण बुधबार सम्पन्न भएको हो।

आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिँदै भनिन्, “मुख्य सुरुङको इन्भर्ट निर्माण कार्य सकिएको छ। अहिले हामी लाइनिङको काममा तीव्रता दिएका छौं, हालसम्म ८३४ मिटर लाइनिङ पूरा भइसकेको छ।”

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्र हुँदै निर्माण भइरहेको यस सुरुङमार्गको हालसम्मको समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको छ।

सन् २०२२ (वि.सं. २०७९) मा सुरु भएको यो परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसाथ अघि बढाइएको हो। चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा सुरुङमार्ग निर्माणको जिम्मा लिएको हो। सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर रहेको छ।

आयोजना कार्यालयका अनुसार मुख्य सुरुङको ‘ब्रेक थ्रू’ कार्य पहिल्यै सम्पन्न भइसकेकाले पछिल्लो चरणका निर्माण कार्यमा गति आएको हो।

पहिरो जोखिम न्यूनीकरणका लागि सुरुङमार्ग

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्ड अन्तर्गतको माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभान क्षेत्रसम्मको सडक भाग अत्यधिक पहिरो प्रभावित क्षेत्र हो। सुक्खा याममा समेत धुलोमाटोको पहिरो खस्ने भएकाले यो खण्ड यात्रा गर्न जोखिमपूर्ण मानिन्छ। हरेक वर्ष दर्जनौँ पटक सवारी अवरोध हुने र जनधनको क्षति हुने गरेकाले वैकल्पिक सुरुङमार्ग निर्माणको आवश्यकता देखिएको थियो।

गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ र म्याग्दी जस्ता जिल्लासँगको यातायात आवागमन यही मार्ग हुँदै हुने भएकाले सुरुङमार्ग निर्माणले यस क्षेत्रको यातायात प्रणाली थप सुरक्षित र स्थिर बनाउने अपेक्षा गरिएको छ।

आगामी वर्षका लागि २ अर्ब ६० करोडको बजेट विनियोजन

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धबाबा सुरुङमार्ग र काठमाडौं–नागढुङ्गा सुरुङमार्गका लागि गरी दुई अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ती दुवै सुरुङमार्ग राष्ट्रिय गौरवका परियोजनामा सूचीकृत छन्।

सिद्धबाबा सुरुङमार्गको सम्पन्नतापछि यातायात सहज हुनुका साथै पहिरोबाट जनधनको जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु