गृहपृष्ठ खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको
खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको
चैत्र ४, २०८२
खोटाङ/काठमाडौँ – बेलायती सेनामा कार्यरत खोटाङ–केपिलासगढी–२ का डाकमणि राईकी पत्नी मनलछी राईको शव काठमाडौंबाट गाउँ लैजाने क्रममा हेलिकप्टर दुर्घटना भएको छ।
एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टर बुधबार बिहान काठमाडौँबाट खोटाङका लागि उडेको थियो। हेलिकप्टरमा मृतक मनलछीका पति डाकमणि राई, छोरा बालकुमार, छोरी लक्ष्मी, आफन्त समला राई र पास्टर काजीबहादुर राईसहित ६ जना सवार थिए।
दुर्घटना हेलिकप्टर अवतरणको क्रममा भयो। निर्धारित अवतरण क्षेत्रभन्दा केही पर अवतरण गर्दा हेलिकप्टर अनियन्त्रित भई भित्तामा ठोक्किएर पल्टियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘असन्तुलनका कारण हेलिकप्टर जमीनमा पल्टिएको’ जनाएको छ।
खोटाङ प्रहरीका डिएसपी प्रकाश बुढाथोकीका अनुसार, हवाको वेग र असन्तुलनले दुर्घटना भएको हुन सक्ने बताए। पाइलट सविन थापा असामान्य अवस्थामा रहेकाले प्राविधिकहरूले पनि असन्तुलनलाई मुख्य कारण बताएको जानकारी दिइएको छ।
हेलिकप्टरमा आगलागी नहुँदा ठूलो मानवीय क्षति टराएको छ। घाइते ५० वर्षीय काजीबहादुर राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अन्य सवारको अवस्था पनि सुरक्षित छ। घाइते र पाइलटलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइसकिएको छ।
दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतले आगलागी नभएको र ठूलो मानवीय क्षति टरेको बताए।















