गृहपृष्ठ धनुषामा एमाले अधिवेशन: भोला यादवको विजयसँगै महासेठ पक्षको पकड पुनः स्थापित

धनुषामा एमाले अधिवेशन: भोला यादवको विजयसँगै महासेठ पक्षको पकड पुनः स्थापित


९ जेठ, जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ। अध्यक्ष पदमा यादवले आफ्ना निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवलाई २०२ मतले पछि पार्दै जित हासिल गरे।

भोला यादवले ४०२ मत प्राप्त गरे भने लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरेका थिए। विजयी अध्यक्ष यादव एमाले उपाध्यक्ष रघुवीर महासेठ निकट मानिन्छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट रहेका छन्।

उपाध्यक्ष पदमा तेजनारायण यादव ४३० मत ल्याएर जयप्रकाश सुनरैतलाई (१६० मत) पराजित गर्दै निर्वाचित भए। सचिव पदमा दीपनारायण ठाकुर ३६५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे।

उपसचिवमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्।

यसअघि वैशाख २० गते अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए। वैशाख २२ गते राति उम्मेदवारको मनोनयन दर्ता भएको थियो, तर नामावली प्रकाशनका विषयमा विवाद उत्पन्न भएपछि २३ गते दिनभर दुई पक्षबीच तनाव, झडप र कुटाकुटसम्मको अवस्था पुगेको थियो। झडपमा पाँच जना घाइते भएका थिए, जसका कारण मतदान स्थगित गरिएको थियो।

तर अन्ततः जेठ ८ गते मतदान सम्पन्न भयो। अधिवेशनमा १३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि ६२८ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु