गृहपृष्ठ सरकारद्वारा दिवंगत पत्रकार रजककी पत्नीलाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारी
सरकारद्वारा दिवंगत पत्रकार रजककी पत्नीलाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारी
मंसिर २, २०८२
काठमाडौं । सरकारले राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा गत चैत १५ गते निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले रजककी पत्नी सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर पदमा नियुक्तिपत्र हस्तान्तरण गरे।
सो अवसरमा मन्त्री खरेलले दिवंगत रजकलाई ‘पत्रकार सहिद’ घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले भने, “रोजगारीको व्यवस्था मार्फत केही राहत पुर्याउने सरकारको प्रयास हो। यदि सुजन मगियाले चाहे विश्वविद्यालय तहमा अध्ययनका लागि पनि सरकार सहजीकरण गर्न तयार छ।”
गत चैत १५ गते राजाबादी आन्दोलन कभरेज गर्ने क्रममा आगलागीबाट गम्भीर घाइते भएका पत्रकार रजकको उपचारका क्रममा निधन भएको थियो। मन्त्री खरेलले रजकको बलिदानलाई सम्मानपूर्वक स्मरण गर्दै पत्रकारिता क्षेत्रमा जोखिम बहन गर्नेहरुको सुरक्षाका विषयमा संसदमा पनि ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए।









