गृहपृष्ठ अचार व्यवसायबाट चम्किइन् पार्वती, वार्षिक ५० लाखको कारोबार

अचार व्यवसायबाट चम्किइन् पार्वती, वार्षिक ५० लाखको कारोबार


असार ४ , २०८३

कल्पना घिमिरे

रुपन्देही, असार — तिलोत्तमा नगरपालिकाकी महिला उद्यमी पार्वती गिरीले अचार व्यवसायमार्फत वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्दै सफल उद्यमीको परिचय बनाउन सफल भएकी छन्। घरेलु स्तरबाट सुरु गरेको अचार व्यवसायले आज उनलाई स्थानीय महिला उद्यमशीलताको प्रेरणादायी उदाहरणका रूपमा स्थापित गरेको छ।

गिरीले वि.सं. २०७४ सालमा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थामार्फत सञ्चालन गरिएको दुई दिने अचार बनाउने तालिम लिएपछि व्यवसायिक यात्राको सुरुआत गरेकी हुन्। सुरुमा समूहमा आबद्ध भएर अचार उत्पादन थालेकी उनले २०७५ सालदेखि भने आफ्नै व्यवसाय सञ्चालन गर्न थालिन्।

विदेशबाट श्रीमान् भेषराज गिरी स्वदेश फर्किएपछि दुवैले मिलेर ‘लकासी अचार उद्योग’ स्थापना गरे। उद्योग सञ्चालनका लागि पार्वतीले ४५ हजार रुपैयाँ र सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार रुपैयाँ लगानी गरेपछि एक लाख रुपैयाँको प्रारम्भिक लगानीमा व्यवसाय सुरु भएको थियो।

सुरुआती चरणमा शंकरनगर चोकमा मासिक १५ हजार रुपैयाँ भाडा तिरेर सटर लिएर व्यवसाय सञ्चालन गरेकी गिरीले आफ्नै ब्रान्ड “LaKaC” स्थापना गर्दै अचार उत्पादनलाई व्यावसायिक रूप दिइन्। हाल उनले १८ प्रकारका अचार उत्पादन गरिरहेकी छन् भने सिजनका बेला उत्पादनको संख्या ३३ प्रकारसम्म पुग्ने गरेको छ।

लप्सी, आँप, कागती, अकबरे खुर्सानीलगायत विभिन्न फलफूल तथा मसलाबाट तयार गरिएका अचारले बजारमा राम्रो पहिचान बनाएका छन्। उत्पादनको गुणस्तर, सरसफाइ र मौलिक स्वादका कारण उनका उत्पादन तिलोत्तमा, बुटवल, भैरहवा, पाल्पा, दाङ, कपिलवस्तु, बर्दियालगायत विभिन्न जिल्लाका बजारसम्म पुग्ने गरेका छन्।

उनका अनुसार अचार व्यवसायबाट मासिक करिब ५० हजार रुपैयाँ आम्दानी हुने गरेको छ भने उद्योगको वार्षिक कारोबार ५० लाख रुपैयाँसम्म पुगेको छ। बढ्दो मागका कारण उत्पादन क्षमता विस्तार गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

व्यवसायको बजार व्यवस्थापन, ग्राहकसँगको सम्पर्क तथा उत्पादन बिक्रीमा श्रीमान् भेषराज गिरीले निरन्तर सहयोग गर्दै आएका छन्। परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई यो स्थानसम्म पुर्‍याउन सफल भएको पार्वतीको भनाइ छ।

उनको उद्यमशीलता र सफलतालाई सम्मान गर्दै हालै तिलोत्तमा नगरपालिकाले नगरभित्रका ८१ जना महिला उद्यमीमध्ये उत्कृष्ट पाँचमा छनोट गरी नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। नगर प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

साधारण गृहिणीबाट सफल उद्यमी बनेकी पार्वती गिरीको यात्रा महिला आत्मनिर्भरता, स्थानीय उत्पादन प्रवर्द्धन र उद्यमशीलताको प्रेरणादायी उदाहरण बनेको छ। भविष्यमा उत्पादन विस्तार गर्दै थप महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने योजना रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु