गृहपृष्ठ नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे।
कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा आज ४ अर्ब १० करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जका अनुसार जनाएको छ।
बजारमा २०७ कम्पनीका सेयर मूल्य बढेका छन् भने ४४ कम्पनीको मूल्य घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो। आज सबै उपसमूहका सूचक हरिहरिचाप्रति उकासिएका छन्।
सूचक अनुसार बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले उकालो लागेका छन्।
आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार पर्छन्। यी सबै नयाँ सूचीकृत कम्पनीहरू हुन्।
त्यसैगरी हिमस्टार ऊर्जा ८.७ प्रतिशत, मिडसोलु हाइड्रोपावर ७.०४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ५.५८ प्रतिशत र माइखोला हाइड्रोपावर ५.२४ प्रतिशतले बढेका छन्।
यसैबीच, हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै २.७८ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, बरुण हाइड्रोपावर, माउन्टेन इनर्जी, सिनर्जी पावर र निफ्रा छन्।









