गृहपृष्ठ बुटवलमा गाैतमबुद्व मानव सेवा आश्रम सञ्चालनमा, उद्घाटनसँगै वृहत् रक्तदान
बुटवलमा गाैतमबुद्व मानव सेवा आश्रम सञ्चालनमा, उद्घाटनसँगै वृहत् रक्तदान
असार २७ ,२०८३
कल्पना घिमिरे
बुटवल, ।रुपन्देहीकोबुटवल उपमहानगरपालिका–६, चाँदबारीमा गाैतमबुद्ध मानव सेवा आश्रम केन्द्रद्वारा सञ्चालित मानव सेवा आश्रमको उद्घाटन गरिएको छ। आश्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले गरेका हुन्।
केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष विक्रम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य मोहन बिक्रम जीसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन आजीवन सदस्य रामप्रसाद शर्माले गरेका थिए।
आश्रम उद्घाटनसँगै आयोजित वृहत् रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ। संकलित रगत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा उपयोग हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष विक्रम तिवारीले समाजका असहाय, अशक्त, ज्येष्ठ नागरिक, दृष्टिविहीन, विपन्न तथा सडक आश्रित नागरिकलाई संरक्षण र सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए। उनले जात, धर्म, भाषा, लिङ्ग, वर्ग वा राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी मानव सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेश सभापति शालिकराम घिमिरे, संगठन बिभाग केन्द्रीय सदस्य गाेपाल घिमिरे केन्द्रीय प्रशिक्षण बिभाग सदस्य मधु प्रसाद अर्याल ,स्वास्थ बिभाग केन्द्रीय सदस्य डा. याेगेन्द्र अग्रहरी अम्रत भुषाल प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू , जिल्ला सभापति महेन्द्र उपाध्याय सहित जिल्ला समितिका सदस्यहरू तथा रूपन्देही जिल्लाका पालिका सभापतिहरू सहित रास्वपाका कार्यकर्ताहरू तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मेयर खेलराज पाण्डेयले मानव सेवामा समर्पित संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता सेवामूलक अभियानलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गौतम बुद्ध मानव सेवा केन्द्रले वि.सं. २०८१ सालदेखि न्यानो लुगा वितरण, विद्यालय पोशाक सहयोग, ह्विलचेयर वितरण, अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण, विपन्न परिवारलाई राहत सामग्री सहयोग, विपद् तथा आपत्कालीन मानवीय सहायता, रक्तदान तथा सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाले दीर्घकालीन योजनाअन्तर्गत व्यवस्थित मानव सेवा आश्रम सञ्चालन, निःशुल्क वा सहुलियतपूर्ण एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य शिविर, औषधि सहयोग, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। साथै देशभर शाखा विस्तार गरी युवाहरूलाई सामाजिक सेवामा स्वयंसेवकका रूपमा आबद्ध गराउने योजना पनि अघि सारेको जनाएको छ।
“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै केन्द्रले आगामी दिनमा आफ्ना मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।










