गृहपृष्ठ विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्ड
विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्ड
- मंसिर १, २०८२
ढाका — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्षको विद्यार्थी आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको कथित नरसंहारमा हसिनासहित तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकसमेत दोषी ठहरिएका हुन्।
आईसीटीका न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले सोमबार आदेश जारी गर्दै हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। मुद्दाको सुनुवाइका क्रममा तीन मध्ये एकमात्र आरोपी अदालतमा उपस्थित भएको प्रहरी स्रोतले जनाएको छ।
विद्यार्थी आन्दोलनमा कडा दमनको आरोप
अदालतका अनुसार, तत्कालीन प्रधानमन्त्री हसिनाले आन्दोलन दमनका क्रममा सुरक्षा निकायलाई ड्रोनमार्फत प्रदर्शनकारीको पहिचान गर्न र हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको ठहर गरेको छ। यस सम्बन्धमा ५४ जना व्यक्तिको बयानलाई प्रमाणका रूपमा पेश गरिएकोमध्येको अदालतले बताएको छ।
उक्त सुनुवाइ प्रक्रियामा सहभागी नदेखिएकी हसिना हाल भारतमा आश्रय लिएर बसेकी छन्। आन्तरिक राजनीतिक अस्थिरता र आन्दोलनसँग जोडिएको यो फैसला बंगलादेशको राजनीतिमा ठूलो तरंग ल्याउने सम्भावना देखिएको छ।









