गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचनका लागि ९ प्रकारका सामग्री केन्द्रबाट पठाइने
प्रतिनिधिसभा निर्वाचनका लागि ९ प्रकारका सामग्री केन्द्रबाट पठाइने
माघ २५, २०८२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले ९ प्रकारका सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइने सामग्रीमा तालिम तथा मतदान केन्द्रका लागि आवश्यक सुरक्षणशील सामग्री, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिका स्टीकर रहेका छन् ।
यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुक), मार्कर पेन, स्केल, स्टापलर मेसिन तथा पिन, कँची, ग्लु स्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष तथा महिला कार्ड, मतदाता क्रमसङ्ख्या कार्ड, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् ।
त्यस्तै नेपाली कागजका खाम (१० बाइ १५ इन्च), कपडासहितका नेपाली खाम (निबिदा मतपत्र राख्न प्रयोग हुने), सेतो कागज (ए–४) ३० पाना, फित्तासहितको रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, दुई मिटरको कोरा कपडा, कालो र रातो जेल पेन तथा चारवटा मैनबत्तीको प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा समावेश गरिएको आयोगले जनाएको छ ।
















