गृहपृष्ठ भारतले चेनब नदीको पानी रोक्दा भारत–पाकिस्तान तनाव चुलियो, सन्धि तोड्ने घोषणा

भारतले चेनब नदीको पानी रोक्दा भारत–पाकिस्तान तनाव चुलियो, सन्धि तोड्ने घोषणा


भारतको जम्मू–कस्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको सम्बन्ध फेरि चिसिएको छ। सोही हमलाको प्रतिक्रियामा भारतले पाकिस्तानतर्फ बग्ने चेनब नदीको पानीको प्रवाह लगभग पूर्ण रूपमा रोकेको छ।

ब्लुमबर्गको रिपोर्टअनुसार, पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले आइतबार बिहानदेखि चेनब नदीमा पानीको प्रवाह सामान्यभन्दा झन्डै ९० प्रतिशत घटाइएको आरोप लगाएका छन्। भारतीय सञ्चार माध्यमहरूले भारतले पानीमार्फत पाकिस्तानमाथि ‘प्रतिकारात्मक प्रहार’ गरेको जनाएका छन्।

प्रवक्ता रानाका अनुसार, भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही घण्टा पानी रोकेर फेरि छोड्ने अभ्यास गर्दै आएको भए पनि यसपटकको कदम अभूतपूर्व रहेको छ। उनका अनुसार, भारतको यो निर्णयपछि पाकिस्तानमा करिब दुई महिनासम्म सिँचाइका लागि पानीको आपूर्ति झन्डै २० प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो, तर हालको विकासले स्थिति झन् गम्भीर बनाएको छ।

यो घटनाको पृष्ठभूमिमा, अप्रिल २२ मा जम्मू–कस्मिरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा नेपालका सुदीप न्यौपाने पनि परेका थिए। भारतले सो हमलाको दोष पाकिस्तानमाथि लगाउँदै आवश्यक प्रतिवाद गर्ने चेतावनी दिएको छ। यता पाकिस्तानले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ।

सोही तनावबीच भारतले ६५ वर्षअघि हस्ताक्षर गरिएको ‘सिन्धु जल सन्धि’ एकतर्फी रूपमा तोडिएको घोषणा गरेको छ। यो सन्धिअनुसार भारतबाट पाकिस्तानतर्फ बग्ने छवटा प्रमुख नदीहरूमध्ये चेनब पनि एक हो। पाकिस्तानले यदि भारतले पानी रोक्यो भने त्यो युद्धको घोषणा सरह हुने चेतावनी दिए पनि भारतले पानी रोक्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

पछिल्ला दिनहरूमा दुबै देशबीचको सैन्य तनाव पनि चुलिएको छ। सीमा क्षेत्रमा गोली हानाहान भएका घटनाहरू रिपोर्ट भएका छन् भने पाकिस्तानले भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ। भारतको नौसेनाले पनि अप्रिल २७ मा लामो दूरीको फायरिङ अभ्यास गरेको छ।

अर्कोतर्फ पाकिस्तानले शनिबार ‘अब्दाली’ ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ, जसले करिब २८० माइल दूरीमा प्रहार गर्न सक्छ। पाकिस्तानले मिसाइल परीक्षण सामान्यतया अरब सागर वा बलुचिस्तानको मरुभूमितर्फ गर्ने गरेको छ।

चीन, साउदी अरब तथा अन्य खाडी राष्ट्रहरूबीच तनाव न्यूनीकरणका प्रयासहरू जारी छन् भने संयुक्त राष्ट्रसंघले पनि संयमता अपनाउन दुबै देशलाई आग्रह गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु