गृहपृष्ठ भारतद्वारा बंगलादेशका तयारी कपडा र खाद्यवस्तु आयातमा भूमि बन्दरगाहमार्फत प्रतिबन्द

भारतद्वारा बंगलादेशका तयारी कपडा र खाद्यवस्तु आयातमा भूमि बन्दरगाहमार्फत प्रतिबन्द



४ जेठ, काठमाडौं — भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा), फर्निचर लगायतका वस्तुहरूको भूमि बन्दरगाहमार्फत आयातमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य मन्त्रालय अन्तर्गतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (DGFT) ले शनिबार जारी गरेको सूचनामार्फत उक्त प्रतिबन्ध तत्काल लागू हुने जनाएको हो।

सूचना अनुसार अब बंगलादेशबाट तयारी गार्मेन्टसहित अन्य सामग्रीहरू भारतको कुनै पनि भूमि बन्दरगाहमार्फत भित्र्याउन पाइने छैन। यद्यपि, ती सामानहरू भारतको न्वावा शेवा पोर्ट (जवाहरलाल नेहरु पोर्ट, नवी मुम्बई) र कोलकाता बन्दरगाहमार्फत भने आयात गर्न सकिनेछ।

भारतीय मिडियाका अनुसार उक्त निर्णय बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसद्वारा चीनमा दिइएको विवादास्पद अभिव्यक्तिपछि आएको हो। युनुसले हालै चीनको भ्रमणका क्रममा भारतका सात पूर्वोत्तर राज्यहरूलाई समुद्रसम्मको पहुँच नभएको उल्लेख गर्दै बंगलादेशलाई हिन्द महासागरसम्मको एक मात्र संरक्षकको रूपमा व्याख्या गरेका थिए। उनले चीनलाई बंगलादेश हुँदै आफ्ना सामान विश्वभर पठाउन आह्वानसमेत गरेका थिए, जसलाई भारतले गम्भीरतापूर्वक लिएको बताइएको छ।

नयाँ प्रतिबन्धका अनुसार प्रोसेस्ड फुड (जस्तै फलफूल, फलफूलको स्वादयुक्त पेय, चिप्स, मिठाई), कपास, कपासको धागो, प्लास्टिकजन्य वस्तुहरू, रङ, काठबाट बनेका फर्निचर लगायतका सामग्री भारतका भूमि सीमा शुल्क स्टेशन तथा एकीकृत जाँच चौकी (ICP) हुँदै भित्र्याउन रोक लगाइएको छ।

यद्यपि, यो प्रतिबन्ध बंगलादेशका माछा, एलपीजी ग्यास, क्रस्ड स्टोन (गिट्टी), खाद्य तेल तथा भारत हुँदै नेपाल र भुटान जाने सामानमा लागू हुने छैन।

भारत र बंगलादेशबीचको व्यापारिक सम्बन्धमा यसअघि पनि भारतले ट्रान्सशिपमेन्ट सुविधा फिर्ता लिइसकेको छ। सन् २०२० मा दिइएको उक्त सुविधाको माध्यमबाट बंगलादेशले भारतका विमानस्थल र बन्दरगाह प्रयोग गरी आफ्ना सामानहरू पश्चिम एशिया, युरोपलगायत देशहरूमा पठाउँदै आएको थियो।

भारतको पूर्वोत्तर क्षेत्रमा रहेका ११ ट्रान्जिट प्वाइन्टहरूमार्फत दुई देशबीच सामान ओसारपसार हुँदै आएको छ, जसमा तीन आसाम, दुई मेघालय र छ त्रिपुरा राज्यमा अवस्थित छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु